‘अब बन्ने २० प्रतिशत चलचित्रमा नयाँ कथा आउँछ’
कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र आठ महीनायता ठप्प छ। अहिले पनि सरकारले चलचित्र छायांकन र प्रदर्शनमा रोक लगाएको छ। चलचित्रसँग सम्बन्धित संघ संस्थाहरूले चलचित्र सम्बन्धी गतिविधि गर्न पाउनुपर्ने माग गरिरहेका छन्। तर, कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा चलचित्र छायांकन र प्रदर्शन हुने सम्भावना झनै कम हुँदै गएको छ। यसै विषयमा रहेर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँग हिमालखबरले गरेको छोटो कुराकानीः
चलचित्र छायांकन तथा प्रदर्शन गर्न पाउनुपर्ने तपाईंहरूको माग कहाँ पुग्यो ?
हामी बन्दाबन्दी खुकुलो भएपछि यो माग राख्दै विभिन्न सरकारी निकायमा गएका थियौं। सार्वजनिक यातायात चलेको, म्युजिक भिडिओहरूको शुटिङ भइरहेकोले हामीले पनि गर्न सकिन्छ भनेर कडा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन गर्न र प्रदर्शन गर्न अनुमति माग गरेका थियौं। हाम्रो मागप्रति सकारात्मक हुँदै दशैं, तिहार सकिएपछि बसेर छलफल गरौं भन्ने प्रतिकृया आएको थियो। तर, पछिल्लो समय संक्रमितको संख्या देख्दा अनुमति पाउने सम्भावना घटेर गएको छ।
यो अन्योलबीच चलचित्र क्षेत्र कसरी चलायमान बनाउन सकिएला ?
अहिले झनै अन्योल बढ्दै गएको छ। संक्रमण फैलिँदै जाँदा सबैमा त्रास पैदा भएको छ। त्यसैले अब सरकारले यो क्षेत्रलाई पुर्नजागृत गर्न सहयोग गर्नुपर्छ। चलचित्रकर्मीको करोडौं लगानी 'होल्ड'मा छ। फिल्म प्रदर्शन हुन पाएको छैन। शुटिङ रोकिएको छ। ब्यांङकबाट ऋण लिएर चलचित्र निर्माणमा, हल निर्माणमा लगानी गरेका छन्। अहिले उनीहरूको आर्थिक स्रोत नै बन्द हुँदा ठूलो समस्या पैदा भएको छ। चलचित्र क्षेत्रलाई बचाउनका लागि राज्यले लगानी गर्नुपर्छ। त्यो विविध तरिकाले गर्न सक्छ। ऋण मिनाहा गरिदिएर, विभिन्न शीर्षकमा लाग्ने कर, शुल्क छुट गर्नुपर्छ। अनि मात्रै चलचित्रले गति लिनसक्छ।
नेपाली चलचित्र डिजिटल माध्यामबाट रिलिज गर्न सकिँदैन ?
रिलिज गर्न सकिन्छ। तर, ठूलो लगानी उठाउन सक्ने सम्भावना कम हुन्छ। किनभने अहिले हामीसँग भएको डिजिटल प्लेटफर्म थोरै दर्शकको पहुँचमा छ। त्यसैले थोरै लगानी भएका फिल्महरू मात्रै रिलिज गर्न सकिने अवस्था छ। त्यसरी कतिपयले गरिरहेका पनि छन्। गर्ने तयारीमा छन्। अमेजन, प्राइम, नेटफ्लिक्स जस्ता प्लेटफर्ममा हाम्रो प्रत्यक्ष पहुँच छैन। यी प्लेटफर्ममा रजिष्टर हुनको लागि भिसा कार्ड प्रणाली हुनपर्छ। त्यो हामी कहाँ छैन। त्यसको लागि हामीले अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, उद्योग वाणिज्य महासंघ, चलचित्र विकास बोर्डमा प्रकृयाको लागि अपिल गरेका छौं। हेरौं कहिलेसम्म हुन्छ।
बन्दाबन्दीले दर्शकलाई हलसम्म जानु नपर्ने बनाएको छ। अहिले आफूले चाहेको जस्तो फिल्म हेर्न पाइरहेका छन्, घरमा बसेर नै। नेपालको फिल्म हेर्न हलसम्म जानुपर्ने बाध्यता छ। अझै केही समय डिजिटल माध्ययाममा जान सक्ने अवस्था छैन। त्यसैले दर्शकलाई हलसम्म तान्नको लागि पनि नयाँ कथा लिएर आउनैपर्छ।
उसो भए त अब बन्ने चलचित्रको संख्या पनि घट्ला नि ?
अवश्य घट्छ। तर, अवस्था सामान्य भएपछि भन्दा पनि अर्को वर्ष चाहिँ। किनभने बनेका चलचित्रहरू प्रदर्शन हुन पाएका छैनन्। कतिपय शुटिङबाट फर्केका छन्। जान तयार भएकाहरू स्थगित भएर बसेका छन्। यस्ता कारणले अवस्था सामान्य भएपछि चाहिँ सामान्य रूपमा नै आउँछ। त्यसपछि भने निकै कम बन्छन् सिनेमा।
अब सिनेमा कस्ता बन्लान् ?
अब नयाँ बन्ने सिनेमाहरू नयाँ कथासहित आउँछन्। नयाँ फिल्म मेकरहरू पनि आउँछन्। ‘लक्डाउन’ले दर्शकलाई हलसम्म जानु नपर्ने बनाएको छ। अहिले आफूले चाहेको जस्तो फिल्म हेर्न पाइरहेका छन्, घरमा बसेर नै। नेपालको फिल्म हेर्न हलसम्म जानुपर्ने बाध्यता छ। अझै केही समय डिजिटल माध्यममा जान सक्ने अवस्था छैन। त्यसैले दर्शकलाई हलसम्म तान्नको लागि पनि नयाँ कथा लिएर आउनैपर्छ। साथमा निर्देशकीय पक्ष, अभिनय पक्ष सबै एंगलबाट उत्कृष्ट ल्याएर आउनुपर्छ। त्यो आउँछ पनि। अब बन्ने करीब २० प्रतिशत फिल्मले नयाँ कथा लिएर आउँछन् जस्तो लागेको छ।
विश्व नै अनलाइन माध्यममा गएको छ। हल सञ्चालन गर्न सम्भव नभएका देशहरूमा डिजिटल माध्यामबाटै चलचित्रहरू रिलिज भइरहेका छन्। चलचित्रको चर्चा, लगानी उठाउनमा समस्या भएको पनि सुनिँदैन। ठूला डिजिटल माध्यममा हाम्रो पहुँच छैन। भएको भए पनि त्यस्ता माध्याममा रिलिज गर्न सक्ने स्तरका चलचित्र कति नै छन् र भने जस्तो पनि बनाएको छ।
चलचित्रमा लगानी पनि घट्ला ?
घट्छ। तर, थौरै लगानीमा उत्कृष्ट फिल्म बन्लान् जस्तो लागिरहेको छ। एउटै फिल्ममा एक जना मात्रै लगानीकर्ता नभएर धेरै जना हुनसक्छ। हामीले पनि त्यही सुझाव दिइरहेका छौं। एक जनाले धेरै लगानी गर्न भन्दा मिलेर लगानी गर्दा नाफा–घाटा ब्यालेन्स हुन्छ भनेर निर्माताहरूलाई सुझाइरहेका छौं।
कोरोनाले सिनेमा क्षेत्रलाई पाठ पनि सिकायो होला नि ?
सिकाउन भन्दा पनि हाम्रा कमिकमजोरी महसुुस गराएको छ। सानो उद्योग हुँदाको समस्या पनि महसुस गराएको छ। विश्व नै अनलाइन माध्यममा गएको छ। हल सञ्चालन गर्न सम्भव नभएका देशहरूमा डिजिटल माध्यमबाटै चलचित्रहरू रिलिज भइरहेका छन्। चलचित्रको चर्चा, लगानी उठाउनमा समस्या भएको पनि सुनिँदैन। ठूला डिजिटल माध्यममा हाम्रो पहुँच छैन। भएको भए पनि त्यस्ता माध्यममा रिलिज गर्न सक्नेस्तरका चलचित्र कति नै छन् र भने जस्तो पनि बनाएको छ।
त्यसैले अब चलचित्र निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका हुनुपर्छ। कथा, निर्देशकीय, अभिनय पक्षहरू सबै उत्कृष्ट हुनुपर्छ। अबको युग भनेको डिजिटल युग हो। यो युगमा बाँच्नका लागि, स्थापित हुनका लागि उत्कृष्ट काम नगरे यत्तिकै हराएर गइन्छ। यो महसुस सबै चलचित्रकर्मीलाई भएको हुनुपर्छ। त्यसैले अब बन्ने चलचित्रहरू नयाँ कथा र शैलीमा मौलिकतासहित आउँछ जस्तो लागेको छ।
प्रस्तुति: नुनुता राई