अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी, बाइडेन र ट्रम्पबीच कडा प्रतिस्पर्धा
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदार बनेका जो बाइडनबीच विभिन्न निर्णायक मानिएका राज्यहरूमा कडा प्रतिस्पर्धा छ।
न्यूयोर्क टाइम्सका अनुसार, बुधबार बिहान ११.४५ बजेसम्ममा बाइडेनले २२३ इलेक्टोरल मत पाएका छन् भने ट्रम्पका पक्षमा १७४ इलेक्टोरल मत छ। राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्छ। अमेरिकी निर्वाचनका लागि ५३८ इलेक्टोरल मत छ।
दुवै उम्मेदवारले आ-आफ्नो वर्चश्व रहेका राज्यहरू अनुमान गरेअनुसार नै जित्दै गएका छन्। बाइडेनका पक्षमा जाने अपेक्षा गरिएको फ्लोरिडामा ट्रम्पले नै बाजी मारेका छन्।
२० इलेक्टोरल भोट रहेको पेन्सिलभेनिया, १६ इलेक्टोरल मतसहितको मिसिगन, १६ इलेक्टोरल मतको जर्जिया तथा १० इलेक्टोरल मत रहेको विस्कन्सिन राज्यको प्रतिस्पर्धालाई असाध्यै महत्वपूर्ण र निर्णयक मानिएको छ। यी राज्यहरूका इलेक्टोरल मत आफ्नो पक्षमा पार्ने उम्मेदवारले निर्वाचन जित्ने आकलन गरिएको छ।
यसैबीच, राष्ट्रपति पदका प्रतिस्पर्धी बाइडेनले एक वक्तव्य जारी गर्दै चुनावी प्रारम्भिक परिणामबाट आफू उत्साही र आशावादी रहेको बताएका छन्। त्यस्तै, ट्रम्पले पनि आफूले जित्ने निश्चय रहेको भनी ट्विट गरेका छन्।