व्यापार घाटा रहेसम्म आर्थिक वृद्धि हुँदैन !
दिगो तथा उच्च आर्थिक वृद्धिका लागि तीव्र गतिमा बढ्दै गएको व्यापार घाटा घटाउनै पर्छ। यसका लागि देशभित्रै उत्पादनमा जोड त दिनैपर्छ सँगै कतिपय अनावश्यक आयातलाई निरुत्साहित गर्नुपर्छ।
सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले कम परिमाण तथा कम दरको आयात र बढी परिमाण तथा बढी दरको निर्यात उच्च आर्थिक वृद्धिको संवाहक हुन्छ। नेपालको अवस्था भने उल्टो छ। अपवादका केही आर्थिक वर्ष (आव) मा वाहेक निर्यात भन्दा आयात परिमाण र लागत दुवैका हिसाबले ज्यादा छ। (हे.तालिका–१)
जहिल्यै पनि निर्यातको तुलनामा आयात धेरै भएकै कारण हाम्रो अन्तर्राष्ट्रिय व्यापार सधैं असन्तुलित रहँदै आएको छ। त्यसैले नेपालमा दिगो तथा फराकिलो त कुरै नगरौं उच्च दरको आर्थिक वृद्धि पनि हुनसकिरहेको छैन। यो आलेख नेपालको आर्थिक वृद्धि कम हुने वा गराउने प्रमुख कारण नेपालको घाटाको अन्तर्राष्ट्रिय व्यापार हो भन्नेमा केन्द्रित छ।
हिसाबकिताब राखिएदेखि भनौं वा यो उपलब्ध भएयताको समय वा २०४७ सालको परिवर्तन अघि वा पछि – नेपालको आर्थिक वृद्धिदर निकै नै कम रह्यो। उदाहरणको लागि प्रजातन्त्र पुनस्र्थापनाको प्रारम्भिक काल २०४८–२०५२ सालको कालखण्ड होस् या माओवादी हिंसाको शुरुआती चरण २०५३–२०५७ को अवधि; २०५८ देखि २०६२ सालको राजाको प्रत्यक्ष शासनको अवधि होस् या, गणतन्त्र बहालीको शुरुआती कालखण्ड २०६३–२०६७ बीच वा संविधान निर्माणको शुरुआती समय २०६८–२०७३ बीच – औसत आर्थिक वृद्धिदर निम्न तहमै रह्यो। (हे. तालिका–२)
आव २०७३÷७४ देखि २०७५÷७६ सम्म भएको क्रमशः ७.७ प्रतिशत, ६.३ प्रतिशत र ६.७ प्रतिशतको आर्थिक वृद्धि तुलनात्मक रूपमा उत्साहजनक थियो। तर यो उत्साह लामो समय टिकेन। गएको आर्थिक वर्ष २०७६/७७ को वृद्धिदर २.२७ को हाराहारीमा रहने २०७७ वैशाखतिरको अनुमान विपरीत १ प्रतिशतको हाराहारी वा त्योभन्दा कम हुने अवस्था आयो।
आर्थिक वृद्धि कम हुनुमा अहिलेको कोभिड–१९ संक्रमणको प्रभाव जस्तै कारण अरू पनि छन्, हुनसक्छन् तर हाम्रा लागि निरन्तरको एउटै कारण छ– सधैंको व्यापार घाटा।
कहिलेकाहीं छोटो समयको लागि वस्तु तथा मालसामानको आपूर्तिको अभाव हटाउन मद्दत पुग्ने भएकाले व्यापार घाटाको फाइदा पनि देखिन्छ। तर सधैंका लागि भने यसबाट बेफाइदै बेफाइदा मात्र छ। व्यापार (चालु) खातामा घाटा हुने भनेको स्रोत तथा पूँजी देशबाट बाहिरिने अवस्था पनि हो।
आर्थिक वृद्धिका लागि मात्र नभई मुलुकको समष्टिगत आर्थिक स्थितिको दिगोपनाका लागि मुलुकको व्यापार खाताको सन्तुलन अति महत्वपूर्ण हुन्छ। लामो अवधिको व्यापार घाटाले बाह्यस्थितिलाई अस्थिर र धान्न नसकिने बनाउँछ, मुलुकलाई झन् झन् ऋणी बनाउँदै लैजान्छ र अन्ततः देश आर्थिक रूपमा जर्जर र कमजोर बन्न पुग्छ।
उत्पादन बढाउने अनावश्यक आयात घटाउने
बढ्दो र विस्तारित व्यापार घाटाको प्रत्यक्ष असर आर्थिक वृद्धि र रोजगारीमा पर्दछ। र, नेपाल जस्तो धेरै र सधैं आयात गर्ने मुलुकमा बेरोजगारी बढ्नुमा यो एक प्रमुख कारक पनि हो।
अब प्रश्न उठ्न सक्छ के व्यापार घाटा कम गर्न आयात बन्द गर्ने त ? सोझै भन्दा यो उपयुक्त विकल्प होइन। किनभने स्वदेशमा उत्पादन नहुने पेट्रोल, मेशिन तथा औजारलगायतका केही वस्तुको आयात गर्न हामी बाध्य छौं। फेरि सबै आवश्यकताका वस्तु हामीले नै उत्पादन गर्ने पनि होइन, गर्न खोजे पनि सम्भव हुँदैन।
तर हामीले केही वस्तुको उत्पादनमा ध्यान दिनै पर्छ। विशेषगरी कम तौल तथा आयतन र बढी मूल्य पाइने तथा विश्व मूल्य शृंखलामा स्थान ओगट्ने क्षेत्रहरू पहिल्याएर उत्पादनमा जोड दिनुपर्छ।
त्यस्तै हाम्रो आयातमा कति आवश्यक वस्तु छन् भनेर हेर्नैपर्छ। अनावश्यक आयातलाई निरुत्साहित गर्नुपर्छ। यहाँ अनावश्यक आयात भन्नाले हामीलाई आवश्यक पर्ने कतिपय वस्तु नेपालमै सस्तो वा प्रतिस्पर्धी मूल्यमा उत्पादन गरेर; तिनको आयातलाई निरुत्साहित गर्ने अवस्था हो। जस्तै तरकारी, फलफूल, खाद्यान्न, मासुजन्य वस्तुहरूको यहीं उत्पादन गर्न सम्भव छ। हो बजारको असफलता तथा अपूर्णताको कारणले केही वस्तु तथा सेवा आयात गर्नुपर्ने हुन्छ। तर बजारसँग सम्बन्धित भन्दा अन्य व्यापारिक तथा नाफाखोरी कारणले नेपालले वस्तु तथा सेवाको वास्तविक मूल्य भन्दा बढी मूल्य तिरेर खासगरी भारतीय तरकारी आयात हुने गरेको छ।
औद्योगिक वस्तु निर्यात गरेर व्यापारमा बचत गर्ने मुलुकमा आर्थिक वृद्धि र रोजगारीमा सकारात्मक प्रभाव पर्छ। तर नेपालमा उल्टो छ; अर्थात् कार, बस, ट्रक, मेशिनरी आदि औद्योगिक वस्तु अनावश्यक रूपमा हुने आयातले सधैं व्यापार असन्तुलन तथा घाटा हुन्छ। यसले नेपालको आर्थिक वृद्धि र रोजगारीमा नकारात्मक असर पर्दछ।
आयात निर्यातको शृंखलामा वस्तु र सेवा दुवै पर्दछन्। अन्तर्राष्ट्रिय व्यापारमा वस्तुको हिस्सा ८० प्रतिशतको हाराहारीमा रहेको पाइन्छ भने विश्व व्यापार संगठनको एक तथ्यांक अनुसार वस्तु व्यापारको ७० प्रतिशत औद्योगिक तथा उत्पादित सामानको छ। यो तथ्यांकले निर्यात गर्ने हुन् वा आयात गर्ने – दुवै देशको व्यापार सन्तुलन ती देशको उद्योग तथा औद्योगिक उत्पादन क्षेत्रसँग सोझै सम्बन्धित हुने कुराको पुष्टि गर्दछ। उदाहरणको लागि जर्मनीलगायतका केही मुलुकहरूले औद्योगिक क्षेत्र तथा औद्योगिक उत्पादनको माध्यमबाट व्यापार सन्तुलन तथा व्यापारमा नाफा कायम गर्छन्।
आर्थिक वृद्धिका लागि मात्र नभई मुलुकको समष्टिगत आर्थिक स्थितिको दिगोपनाका लागि व्यापार खाताको सन्तुलन अति महत्वपूर्ण हुन्छ। लामो अवधिको व्यापार घाटाले बाह्यस्थितिलाई अस्थिर र धान्न नसकिने बनाउँछ, मुलुकलाई झन् झन् ऋणी बनाउँदै लैजान्छ। अन्ततः देश आर्थिक रूपमा जर्जर र कमजोर बन्न पुग्छ।
अरू अवस्था सामान्य रहँदा गत वर्षको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतले आयात वृद्धि हुँदा यो वर्षको कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले कमी आउँछ; अर्कोतर्फ १ प्रतिशतले निर्यात वृद्धि हुने हो भने कुल गार्हस्थ्य उत्पादनमा पनि १ प्रतिशत बराबरीकै बढोत्तरी हुन्छ। (हे. तालिका–३)
यसबाट पनि के देखिन्छ भने, आयातसँग आर्थिक वृद्धिको सम्बन्ध देखियो। आर्थिक वृद्धिसँग रोजगारीको पनि सम्बन्ध हुन्छ। अर्थात् आयात बढेको कारणले आर्थिक वृद्धि खुम्चने हुँदा रोजगारी स्वतः घट्न जान्छ। आयात बढेसँगै रोजगारी कसरी घट्छ त ? रोजगारी सरकारले होइन निजी क्षेत्रले बढाउने हो। निजी क्षेत्रले उत्पादित वस्तु स्वदेशमा बिक्री मात्र गर्दैन, निर्यात पनि गर्छ। निर्यात हुनु भनेको देशभित्रै उत्पादन हुनु हो। देशभित्रै उत्पादन गर्न श्रम चाहिन्छ, त्यो भनेको रोजगारी वृद्धि हुनु हो।
तसर्थ, व्यापार सन्तुलनको एकमात्र उपाय हो, उत्पादन। उत्पादन बढ्यो भने निर्यात बढ्छ र आयात पनि घट्छ। निर्यात बढेको सामान्य जनता र सरकार तथा नीतिनिर्माता दुवैले अलि चाँडै थाहा पाउँछन् र हल्ला हुन्छ। तर आयात बढेको सामान्य जनताले त थाहा पाउँदैनन् नै सरकार तथा नीतिनिर्माताले पनि थाहा नपाए जस्तो गरे भने न त सोचे जस्तो आर्थिक वृद्धि हुन्छ न बेरोजगारले रोजगारी पाउँछन्।