म्याराडोनाको टाउकोको शल्यक्रिया सम्पन्न, स्वास्थ्य सुधारोन्मुखः चिकित्सक
अर्जेन्टिनाका फूटबल लेजेन्ड डिएगो म्याराडोनाको मंगलबार टाउकोको सफल शल्यक्रिया भएको छ। उनको स्वास्थ्य सधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्।
म्याराडोनालाई सोमबार अस्पताल भर्ना गरिएको थियो। उनको दिमागको नशा फुटेर रगत जमेको बताइएको छ। उनलाई ब्युनर्स आयर्सको ओलिभोस क्लिनिकमा भर्ना गरिएको थियो।
म्याराडोनाका निजी चिकित्सक तथा न्यूरोसर्जन लियोपोल्डो लुकले अस्पतालबाहिर जम्मा भएका समर्थकहरुलाई सफलतापूर्वक शल्यक्रिया सकिएको जानकारी दिएका हुन्। उनले भनेका छन्, “डियगोको समस्या अहिले नियन्त्रणमा छ। हामीले उनको टाउकोमा सानो प्वाल बनाएर फोहोर निकाल्न पाइप राखिएको छ। त्यसलाई भोलि हटाउनेछौँ।”
उनको शल्यक्रियामा करीब ८० मिनेट लागेको पनि डा.लुकले जानकारी दिए। तर, उनलाई कहिले घर पठाइन्छ भनेर यकिन गर्न नसकिने उनको भनाइ छ। उनले कति चाँडै स्वास्थ्यलाभ लिन्छन् भन्नेमा भर पर्ने डाक्टरले बताए।
म्याराडोना अहिले अर्जेन्टिनाको पहिलो डिभिजनको क्लब जिम्नासियाको प्रशिक्षक छन्। उनले गएको शुक्रबार ६०औँ जन्मदिन मनाएका थिए। उक्त दिन भएको खेलमा जिम्नासियाले पाट्रोनाटोलाई ३–० ले हराएको थियो। खेलअघि उपश्थित म्यारोडोना स्वास्थ्यमा समस्या महसुस गरेपछि केहीबेरमा नै निस्किएका थिए।