देशमा कोरोना संक्रमणदर २८ प्रतिशत, चिकित्सक भन्छन्- अवस्था अझ भयावह हुनसक्छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ कात्तिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
यीमध्ये पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोना परीक्षणका अनुमति दिएका ६७ प्रयोगशालाले ११ हजार १६६ जनाको मात्र स्वाबको नमुना परिक्षण गरेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमणदर २७.८८ प्रतिशत रहेको देखिएको छ ।
मन्त्रालयको ९ कात्तिकको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १२ हजार ३११ जनाको कोरोना परीक्षण गर्दा २ हजार ८५६ जनामा संक्रमण देखिएको थियो । उक्त तथ्यांक अनुसार ९ कात्तिकमा मुलुकमा कोरोना संक्रमणदर २३.१९ प्रतिशत थियो ।
तर मुलुकका कोरोना संक्रमणदर बढिरहँदा पनि स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण बढाउन भने कन्जुस्याईँ गरिरहेको छ ।
२९ असोजमा १६ हजार ५९८ जनाको कोरोना परिक्षण हुँदा १८ कात्तिकमा पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको मात्र कोरोना परिक्षण भएको छ ।
धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य कोरोना संक्रमणको दर एकैदिन करिब २८ प्रतिशत पुग्नु ‘खतरनाक’ अवस्था भएको बताउँछन् । कर्माचार्यका अनुसार जति धेरै कोरोना संक्रमण दर देखियो त्यति नै धेरै कोरोना परीक्षण बढाउनु पर्छ ।
“तर सरकारले लक्षण देखिएकालाई मात्र कोरोना परीक्षण गर्न लगाउने गरी निर्देशिका जारी गरेको र यसले लक्षणविहीनलाई परीक्षणको दायरामा ल्याउन नसकेको देखिन्छ,” उनी भन्छन्, “यसो हुँदा थाहै नपाई भित्रभित्रै संक्रमितको संख्या बढेर डरलाग्दो अवस्था निम्तिन्छ । र, अहिले ठ्याक्कै यस्तै भइरहेको छ ।”
डा.कर्माचार्य सरकारले कोरोना परीक्षण बढाएर त्यसका लागि लगानी गर्नुलाई अनावश्यक खर्च मानेको जुन व्यवहारिक नभएको बताउँछन् ।
“समयमा कोरोना परीक्षण गरेर पहिचान हुन सकेमा थप संक्रमण अन्यन्त्र विस्तार हुन पाउँदैन र जोखिम कम गर्न सकिन्छ,” उनी भन्छन्, “त्यसैले सरकारले कन्जुस्याईँ नगरी कोरोना परीक्षण बढाउनै पर्छ ।”