राष्ट्रपतिले वामदेवलाई शीतलनिवास बोलाएर भनिन्- 'नेकपाको संकट मिलाउन पहल गर्नुस्'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो संकटलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेकी छन्।
मंगलबार साँझ गौतमलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले करीब आधा घण्टा छलफल गरेकी हुन्। राष्ट्रपतिले बोलाएपछि गौतम साँझ पाँच बजे शीतलनिवास पुगेका थिए।
"राष्ट्रपतिले बोलाएपछि उहाँ जानुभएको हो, करीब आधा घण्टा उहाँहरुबीच छलफल भयो", गौतमका सञ्चार सहयोगी विश्वमणि सुवेदीले भने, "त्यसक्रममा राष्ट्रपति भण्डारीले नेकपाको पार्टी एकता फेरि संकटमा पर्यो, विगतमा पनि यस्तो संकट पर्दा तपाईंले मिलाउने काम गर्नुभएको थियो, यसपालि तपाईं थप प्रभावकारी ढंगले लाग्नुपर्यो भनेर राष्ट्रपतिले आग्रह गर्नुभयो।"
सुवेदीले गौतमलाई उद्धृत गर्दै भने, "हामी पार्टी एकता मात्र होइन, विधि र पद्दतिसहितको पार्टी एकता कायम राख्ने कुरामा दृढतापूर्वक लागेका छौं।
व्यक्तिगत रुपमा म अझ बढी लागेको छु। तपाईं निश्चिन्त हुनुस्, हामी एकता जोगाउन सफल हुन्छौं।" आइतबार नेकपाका कार्यकारी उपाध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक दिन पहिले भएको भेटवार्ताबारे केन्द्रीय सचिवालयका सदस्यहरुलाई ब्रिफिंग दिने क्रममा पार्टी एकता गम्भीर संकटमा परेको बताएका थिए।
उनले त्यसक्रममा प्रधानमन्त्री ओलीले आफूलाई 'सँगै अगाडि जान नसक्ने भए अलग अलग जाऔं' भनेर प्रस्ताव गरेको समेत बताएका थिए। त्यो ब्रिफिंगमा गौतमसमेत उपस्थित थिए। प्रधानमन्त्री ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्तिलाई लिएर दाहालसँग शुरु भएको मतभिन्नता पछिल्लो समय थप चुलिएको छ।