कोराेना बीमाको भुक्तानी एक साताभित्र गर्न निर्देशन, १३ हजार दाबी भुक्तानी तत्काल गर्नुपर्ने
सरकारले बीमा समितिलाई कोरोना बीमाको दाबी परेका सबै बीमालेखको भुक्तानी एक साताभित्र गर्न निर्देशन दिएको छ। बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरूको भुक्तानी रोकिएको विषयमा अर्थ मन्त्रालयले चासो देखाएको हो।
कोरोना बीमा गरेका र पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएका बिमितले दाबी गरे अनुसारको रकम भुक्तानी एक साताभित्र गरिसक्न मन्त्रालयले बीमा समितिलाई मंगलबार निर्देशन दिएको हो। बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरूलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिनुपर्ने व्यवस्था कोरोना बीमा कार्यविधिले गरेको छ। सोही अनुसा भुक्तानी गर्न अर्थले सम्बन्धित कम्पनीलाई निर्देशन दिएको मन्त्रायलले मंगलबार जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा मंगलबार बसेको बैठकले कोरोना बीमाको भुक्ताानी दिने र सो कार्यको समन्वय तथा अनुगमन गर्न बीमा समितिलाई निर्देशन दिएको हो। यस्तो भुक्तानीको दैनिक प्रतिवेदन बीमा समितिमार्फत अर्थ मन्त्रालयमा पठाउनुपर्ने निर्देशन पनि मन्त्रालयले दिएको छ।
अर्थमन्त्री पौडेलले बिमितहरूले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरूको सुनुवाई गरी समस्या समाधान गर्नुपर्ने भएको छ। यस्तो गुनासो सम्बोधन गर्न सम्बन्धित बीमा कम्पनीहरूले हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्नुपर्ने भएको छ।
बीमा समितिका अनुसार ७ बैशाख २०७७ बाट सुरु भएको यस्तो कोरोना बीमा हालसम्म १७ लाख ७० हजारले गरेका छन्। यस्तो बीमा गर्नेहरुमध्ये १३ हजार तीन सय जनाले दाबी माग गरेका छन्। जसमध्ये १४ सय ४१ वटा दाबीको मात्रै भुक्तानी भएको बीमा समितिले जानकारी दिएको छ।