उच्च अदालत पाटनले दियो र्याप गायक भिटेनलाई पक्राउ नगर्न अन्तरिम आदेश
उच्च अदालत पाटनले र्याप गायक भिटेनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। फौजदारी कसुरमा अभियोजन र अनुसन्धान गर्न पक्राउ गर्न सक्ने भएपनि गीतसंगीतको विषयमा भिटेन (समीर घिसिङ)लाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको ठहर अदालतले गरेको छ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो। नयाँ सार्वजनिक भएको गीतमा प्रहरीले उनलाई अनुसन्धानका लागि खोजी गर्न थालेपछि भिटेन उच्च अदालत पाटन पुगेका थिए।
भिटेनका तर्फबाट उच्च अदालतमा १६ कात्तिकमा निवेदन दर्ता गरिएको थियो। त्यसअघि ८ कात्तिकमा भिटेनको युट्युब च्यानलमा 'पारा' नामको गीत सार्वनजिक भएको थियो। प्रहरीले उक्त गीतमा अश्लिल शब्दको प्रयोग र प्रहरीलाई गाली गरेको भन्दै पक्राउको तयारी थालेको थियो।
प्रहरी प्रधान कार्यालय नक्सालले अनुसन्धान अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेलगत्तै उनले युट्युबबाट गीत हटाएका थिए। आफ्नो भिडियो युट्युबबाट माफी माग्दै आफ्नो गीत हटाएर उनले गीतलाई संसोधन गरेर सार्वजनिक गर्ने समेत बताएका छन्।