रौतहटका प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि
रौतहटका प्रहरी प्रमुख एसपि सिद्धिविक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि एसपि शाह सेल्फ आइसोलेसनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी दिए।
एसपि शाहको स्वास्थ्य अवस्था सामान्य छ। रुघाखोकी र ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराइएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले ज्वरो ठीक भएको प्रवक्ता श्रेष्ठको भनाइ छ।
केही दिनपहिले रौतहटको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहलाई कोरोना संक्रमण पुष्टि भएको थियो। गापा अध्यक्ष साह पनि आइसोलेसनमा छन्।
रौतहटमा पछिल्लो समय कोरोना संक्रमण पुनः विस्तार भएको अनुमान गरिएको छ। गत हप्ता १८९ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा १६ महिला र ९७ पुरुष गरी ११३ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। जिल्लाका सम्पूर्ण क्वारेन्टाइन खाली भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
कोरोना संक्रमणबाट जिल्लामा हालसम्म १४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। बजार तथा यातायात लगायतको क्षेत्र खुल्ला भएपछि सर्वसाधारण कोरोना संक्रमणप्रति सचेत देखिएका छैनन्। बजार तथा यातायातमा पनि मास्क लगाउने तथा व्यक्तिगत दूरी अपनाउनेको संख्या अत्यन्त न्यून रहेको देखिन्छ।