कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, ६ दिनपछि होस खुल्यो
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। उनको मंगलबार दिउँसो पीसीआरको रिपोर्ट आएको हो। ६ दिनदेखि बेहोस अवस्थामा रहेका उनको मंगलबारदेखि होस खुलेको उनका स्वकीय सचिव टेक विश्वकर्माले बताए।
उनले भने, “कोभिड बिरामी भएकाले परिवार तथा हामी कसैले पनि भेटेका छैंनौं तर आज पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र होस पनि खुलेकाले स्वास्थ्यमा सुधार आउँदै गएको चिकित्सकहरूले बताउनु भएको छ।”
सांसद विश्वकर्मालाई निमोनियाका कारण फोक्सोमा बढी समस्या समस्या देखिएको थियो। तर, अब फोक्सोले काम गर्न थालेको चिकित्सकहरूले बताएका स्वकीय सचिव विश्वकर्माले बताए।
१ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका उनलाई निरन्तर ज्वरो आइरहने तथा श्वास फेर्न गारो भएपछि वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा पनि स्वास्थ्यमा सुधार नभएपछि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्।