अब म पीसीआर टेस्ट गर्दिनँ
लक्षण देखिएपछि कतै कोरोना संक्रमण भयो कि भनेर पीसीआर जाँच गर्न जाँदा यति धेरै सास्ती व्यहोर्नुपर्छ कि अर्कोपल्ट परीक्षणका लागि जाने आँट नै आउँदैन।
स्वास्थ्यमा समस्या र मानसिक तनाव झेल्दै कोरोना संक्रमितको दिनचर्या बिताउन थालेको आज ठ्याक्कै १४ दिन भयो। दुई हप्ताअघि मलाई कोरोना परीक्षण पोजिटिभ देखिएको थियो। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार आज मैले दोस्रोपटक कोभिड-१९ जाँचका लागि पीसीआर परीक्षण गर्ने बेला भएको छ।
सबैले परीक्षण गरिहाल्न सल्लाह पनि दिइरहनुभएको छ। तर, मलाई फेरि कोरोना परीक्षण गर्न मन छैन। जाँच्न मन छैन। फेरि रिपोर्ट पोजिटिभ आउला कि भन्ने डरले मलाई यस्तो लागेको होइन। बरु पहिलो पटक कोरोना परीक्षण गर्ने क्रममा मैले जे भोगेँ, त्यो सब सम्झेरै अब कुनै अस्पताल वा प्रयोगशाला पुगेर परीक्षण गर्ने मेरो जाँगर मरिसकेको छ।
त्यो पहिलो जाँच
कोरोना महामारीसँगै हामीले बन्दाबन्दी, निषेधाज्ञा र अरु यस्तै यस्तै अवस्था भोग्यौं। सात आठ महीना यसैगरी बितेको पत्तै भएन। दिनचर्या फेरियो, बाँच्ने तौरतरिका बदलिए। जेजति अन्योल भए पनि हामीले पारिवारिक रमाइलोमा भुल्ने बहाना पाउने चाड, दशैं शुरू हुँदै थियो।
घटस्थापनाको ठिक अघिल्लो दिन, शुक्रबार राति मलाई एक्कासी १०१.८ डिग्री फरेनहाइट ज्वरो आयो। स्वास्थ्य क्षेत्रमै कार्यरत एकजना साथीले दिएको सल्लाह अनुसार म सिटामोल खाएर सुतें। तर, भोलिपल्ट फेरि हनहनी ज्वरो आयो। ज्वरो मात्र होइन, घाँटी पनि निकै दुखेर (टन्सिलाईटिस भएर) अझ गाह्रो भयो। यति गाह्रो भयो कि शनिबार राति म केहीबेर बेहोस भएछु। त्यही भएर आइतबार बिहानै डाक्टरलाई देखाउन जाने निधो गरें।
त्यतिञ्जेलसम्म हाम्रो टोल छिमेकमा कसैलाई कोरोना संक्रमण भएको थिएन। अफिसमा पनि त्यस्तो थिएन। सोचें, मलाई टन्सिलकै कारण ज्वरो आएको होला। त्यही भएर नर्भिक अस्पतालमा नाक, कान, घाँटीका डाक्टरसँग आइतबार दिउसो ३ः३० बजेको अपोइन्टमेन्ट लिएँ। तर, अस्पतालबाट दिउँसो १ः३० मा फोन आयो। फोन गर्नेले भने- आज डाक्टर बिरामी पर्नुभो, तपाईं नआउनुहोला।
त्यसै त अस्पतालमा डाक्टर भेट्न सहज नभएको समय, त्यसमाथि अब यतिबेला कुन अस्पतालमा डाक्टर होलान् ? एकातिर बिमारीको पीडा, अर्कोतिर डाक्टर खोज्ने समस्या आइलाग्यो। यताउता फोन घुमाएँ। स्वास्थ्य क्षेत्रकै चिनजानका एक व्यक्तिले वीर अस्पतालमा २ बजेदेखि डाक्टर हुन्छन् भनेर सुनाए। त्यहीअनुसार हतार हतार पठाओको ट्याक्सी मगाएँ र वीर अस्पताल गएँ।
मेरो कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आयो। मलाई संक्रमण देखिएपछि परिवारका सबैको जाँच गर्याैँ। सबैको रिपोर्ट पोजिटिभ आयो। म जस्तै घरका सबैजनाले अस्पतालमा उही लाइन र उस्तै सकस व्यहोरेर कोरोना परीक्षण गराउनुपर्यो।
पठाओको ट्याक्सीमा थोरै भए पनि अरु सवारी साधनभन्दा दूरी कायम हुने भएकाले मलाई सुरक्षित हुन्छ भन्ने लाग्यो। हातमा पञ्जा र डबल मास्क पनि लगाएँ। अनि वीर अस्पताल गएँ।
नेपालमा कोरोना संक्रमण शुरू हुँदा नहुँदै सम्भवतः पहिलो पटक यसबाट जोगिनेबारे जनहितमा सन्देश जारी भएको थियो। संयोगवश त्यो सन्देश निर्माणमा म पनि सहभागी थिएँ। त्यहीकारण पनि संक्रमणबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्नेबारे म पहिल्यैदेखि सचेत थिएँ। उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि यदि मलाई कोरोना संक्रमण भएको रहेछ भने सकेसम्म अरुलाई नसरोस्, यही कामना थियो मेरो।
त्यहीकारण केही लक्षण देखिनासाथ घरमा छुट्टै बसेँ, अनि अस्पताल पनि एक्लै गएँ। अस्पताल जानेक्रममा ट्याक्सी चढ्दा पनि चालकलाई नसरोस् भनेर सकेजति सजगता अपनाएँ। वीर अस्पताल पुगेपछि डाक्टरले संक्रमणको लक्षण देखिएकाले पीसीआर परीक्षण गर्न सुझाव दिए। सँगै नतिजा पोजिटिभ आएमा कुन औषधि खाने र नेगेटिभ आएमा कुन खाने भनेर पनि लेखिदिए।
पीसीआर परीक्षण गर्नैपर्ने भएपछि अस्पतालको काउन्टरमा पुगें। तर, त्यो दिन पीसीआर परीक्षण बन्द रहेछ। त्यसमाथि बिरामीको चाप निकै रहेकाले परीक्षणको नतिजा आउन पनि चार/पाँच दिन लाग्ने रहेछ।अस्पताल पुग्दा मलाई हनहनी ज्वरो आइरहेकै थियो, घाँटीको दुखाइ उस्तै। अब फेरि अर्को आपत, पीसीआर गर्न कहाँ जाने ! घडीमा २ः४५ बजिसकेको थियो, टेकु अस्पताल जान भ्याइँदैन्थ्यो, गए पनि अवस्था वीरकै जस्तो हुन सक्थ्यो। मैले नर्भिक अस्पतालमा काम गर्ने मेरो साथीलाई फोन लगाएँ। नर्भिकले बाहिरको रेफरलबाट कोरोना परीक्षण नगर्दो रहेछ। त्यहीँका डाक्टरको प्रेस्क्रिप्सन चाहिने रहेछ। त्यसो गर्दा पैसा बढी लाग्ने, भनेको बेला डाक्टर नभेटिने, अनि घरदेखि निकै टाढाको अस्पताल पनि भएकाले नर्भिक जाने जाँगर आएन।
त्यसपछि मैले नजिक पर्ने कुन-कुन अस्पतालमा पीसीआर जाँच हुन्छ भनेर गुगलमा सर्च गरेँ। मेरो घरबाट नजिक पर्ने नेपाल मेडिकल कलेजमा यो सेवा उपलब्ध रहेछ। तर, त्यहाँ जाँच कति बजेसम्म हुन्छ होला ? बन्द रहेछ र गएर रित्तै फर्किनुपर्यो भने ? त्यही बुझ्नलाई त्यहाँ दिइएको नम्बरमा फोन गरेँ। वीर अस्पताल अघिल्तिर उभिएर १० पटकसम्म फोन गरें, तर फोन उठेन। अब कहाँ जाने पीसीआरका लागि ?
फेरि साथीलाई फोन गरेँ। उनले हाम्स अस्पतालमा ४ बजेसम्म पीसीआर जाँच हुन्छ भन्ने सुनेकी रहिछन्। घडी हेरेँ, ३ः२५ भइसकेको रहेछ। त्यही ठाउँमा उभिएर यताउता फोन गर्न थालेको ४० मिनेट भइसकेछ। हतारहतार पठाओेको ट्याक्सी मगाएँ। त्यसपछि पो मलाई याद भो औषधि पसल र त्यहाँ उभिएकाहरू मलाई नै एकोहोरो हेरिरहेका थिए। सायद मैले फोनमा पीसीआर जाँचबारे कुरा गरेको सुनेर होला, उनीहरू सशंकित देखिन्थे।
यस्तो अवस्थामा दोस्रो पटकको जाँच घरमै गराउन पाए पनि हुन्थ्यो भनेर मैले वडा कार्यालयबाट केही सहयोग हुन्छ कि भनेर सोधखोज गरेँ। तर, वडाबाट केही नहुँदोरहेछ। वडा कार्यालयले हामीले अस्पताललाई तिर्ने पैसामा घरमै जाँच गर्न मिल्ने व्यवस्था मिलाइदिन्छ कि भन्ने आशा फेरि पनि थियो। तर, त्यो पनि भएन।
ट्याक्सी आइपुग्यो। मैले हतार छ भनेकाले ट्याक्सी चालकले जाम नहुने बाटोबाट २० मिनेटमै अस्पताल पुर्याइदिए। तर, त्यो २० मिनेट मेरा लागि ठूलै सकस थियो। फोन आइरहेको थियो। एकजना साथीले फोनमा सोधिन्- ‘डाक्टरले के भने ?’
मैले फ्याट्ट भनिहालेँ, ‘पीसीआर जाँच गर्न भनेको छ।’ यो सुनेर ट्याक्सी चालकले फरक्क पछाडि फर्केर शंका र डर दुवै मिश्रित नजरले हेरे। मैले हतारहतार फोन काटेँ र स्यानिटाइजर लगाएर ट्याक्सी भाडा दिएँ। यो आशामा कि मलाई कोरोना भएको रहेछ भने पनि मबाट अरुलाई नसरोस्।ह्याम्स अस्पताल पुगेर फाराम भरें। त्यतिन्जेलसम्म ज्वरो, दुखाई र कमजोरीले मलाई रिंगटा लाग्न थालिसकेको थियो। मलाई गाह्रो भएको देखेर त्यहाँ रहेका सुरक्षा गार्डले मेचमा बस्न भने। बरु फाराम र पैसा आफैले लिएर बुझाइदिन्छु भनेर सहयोगी भावना देखाए। मैले मेचमा बसेर पर्समा हेरेँ। मसँग रू. १५०० मात्र रहेछ। सुरक्षागार्डले कार्डबाट पनि तिर्न मिल्छ भनेपछि मैले पिन कोड पनि लेखेर एटीएम कार्ड दिएँ।
एकैछिनमा फर्केर गार्डले भने, “कार्ड चलेन, माथि क्यान्टिनमा एटीएम छ, त्यतैबाट झिकेर क्यास ल्याउनुहोला। यहाँ ५ बजेसम्म जाँच हुन्छ, मैले यहाँ छोडेर जान मिलेन नत्र सहयोग गर्थें।”
मेरो लिगामेन्टमा पहिल्यै समस्या थियो। च्यातिएको लिगामेन्टमा नि–प्याड लगाएको दाहिने खुट्टा खोच्याउँदै म एटीएम मेसिनसम्म त पुगेँ, तर त्यो एटीएम पनि चलेन। समस्या मेसिनमा थियो कि मेरो कार्डमा भन्ने मेसो पाउन सकिनँ। अर्को एटीएम खोज्दै म गेटमा पुगेँ। गेटमा रहेका सुरक्षागार्डले दायाँतर्फ अलि पर एटीएम बुथ छ भनेर देखाए। झण्डै १०, १५ मिनेट घरि रेलिङ त घरि भित्तो समाउँदै मैले खोजेँ, तर एटीएम बुथ भेटिनँ। फेरि सकीनसकी अस्पतालकै गेटमा फर्केँ।
गेटछेउमा ट्याक्सी रोकिएको रहेछ, चालकलाई सोधेँ, ‘दाई, तल चोकसम्म जाऔं न। एटीएम पुग्नुपर्ने भो।’ उनी तयार भए, तर भाडा रू.४०० लाग्ने बताए।
छोटो दूरीमा यो अचाक्ली धेरै थियो। पठाओको ट्याक्सी बोलाउन समय लाग्थ्यो। म कमजोरीले ढल्न मात्र बाँकी थियो। त्यही भएर उनले भनेजति भाडा दिएँ र सुकेधारा चोकमा रहेको एटीएमबाट पैसा झिकेर आएँ। तिनै सुरक्षागार्ड दाईलाई पैसा दिएँ। भीड कम भएकाले एकछिनमा पालो आयो। स्वाब दिएपछि झन गाह्रो भयो। करीब आधा घण्टा त्यहीँको मेचमा बसेँ। अनि पठाओको ट्याक्सी बोलाएर घर (बौद्ध) फर्केँ।
मेरो कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आयो। मलाई संक्रमण देखिएपछि परिवारका सबैको जाँच गर्याैँ। सबैको रिपोर्ट पोजिटिभ आयो। म जस्तै घरका सबैजनाले अस्पतालमा उही लाइन र उस्तै सकस व्यहोरेर कोरोना परीक्षण गराउनुपर्यो। त्यो दिन मैले सकीनसकी एक्लै र सबैतिर जोगिँदै अस्पताल दौडधुप गर्नुको मुख्य कारण मबाट अरुलाई संक्रमण नहोेस् भन्ने थियो। तर, मैले आफ्नै परिवारलाई संक्रमणबाट बचाउँन सकिनँ।
संक्रमण बढाउने लापरवाही
त्यो दिनको अचाक्ली धपेडीले पनि होला, मेरो स्वास्थ्य अहिलेसम्म पनि सामान्य बन्न सकेको छैन। एकान्तवासको चौधौं दिनसम्म पनि शारीरिक पीडा, थकान र कमजोरी छ। केही लक्षण अझैं पनि देखिइरहेका छन्। यस्तो अवस्थामा दोस्रो पटकको जाँच घरमै गराउन पाए पनि हुन्थ्यो भनेर मैले वडा कार्यालयबाट केही सहयोग हुन्छ कि भनेर सोधखोज गरेँ। तर, वडाबाट केही नहुँदोरहेछ। वडा कार्यालयले हामीले अस्पताललाई तिर्ने पैसामा घरमै जाँच गर्न मिल्ने व्यवस्था मिलाइदिन्छ कि भन्ने आशा फेरि पनि थियो। तर, त्यो पनि भएन। अब या त बढी र अतिरिक्त पैसा तिरेर निजी ल्याबलाई घरमा बोलाउनुपर्यो, नभए त्यही सकस व्यहोरेर अस्पतालसम्म जानुपर्यो। मलाई अब फेरि त्यही सकस व्यहोर्ने आँट छैन।
आइसोलेसनबाटै मेरो प्रश्न छ- सरकार, संक्रमण घटाउनु साटो बढाउने काम किन गरिरहेछौ ? तिम्रो हेलचेक्र्याईं र लापरवाहीले संक्रमण बढाउने काम गरिरहेको छ भने यो कमजोरी कहिले सुधार्छौ ? अनि हामीजस्तै संक्रमितलाई कहिलेसम्म हतोत्साहित बनाइरहन्छौ ?
परिवारमा कोरोना बीमा मेरो मात्र छ। त्यसको लागि रिपोर्टसँगै वडा कार्यालयबाट सिफारिस बनाउनुपर्दो रहेछ। सिफारिस बनाउन कार्यालय पुग्नुपर्दोरहेछ। निःशुल्क जाँचको लागि पनि वडा कार्यालयबाटै विभिन्न सिफारिस लिनुपर्ने रहेछ। त्यो पनि शतप्रतिशत होइन कि केही प्रतिशत मात्र छुट हुँदोरहेछ। परिवारमा एकजनालाई पोजिटिभ देखिएपछि अन्य सदस्यहरू सकेसम्म एकान्तबासमै बस्नुपर्ने हुन्छ। यस्तोमा सिफारिस बनाउन को जाने, कसरी जाने ? एक जनाको सिफारिस बनाउन सम्भावित संक्रमित परिवारको व्यक्ति जाँदा अरुमा संक्रमण फैलिने खतरा हुन्न ?
मैले यो सकस देशको राजधानीमा भोगेँ। पैसा तिरेर जाँच गराउन सक्ने हामी जस्ता मध्यमवर्गीय परिवारले त यति ठूलो सकस भोग्नु पर्छ भने जाँच गर्नलाई पैसा तिर्न नसक्ने गरीब, अपांगता भएका व्यक्ति र अझ दूरदराजमा कस्तो अवस्था भोग्नु परेको होला ? मलाई लाग्छ, यो सकस र यस्तै झन्झटले गर्दा कोरोना परीक्षण गर्न नसक्ने र नजानेहरू धेरै छन् र यहीकारणले संक्रमण अनियन्त्रित रूपमा बढिरहेको छ।
आइसोलेसनबाटै मेरो प्रश्न छ- सरकार, संक्रमण घटाउनु साटो बढाउने काम किन गरिरहेछौ ? तिम्रो हेलचेक्र्याईं र लापरवाहीले संक्रमण बढाउने काम गरिरहेको छ भने यो कमजोरी कहिले सुधार्छौ ? अनि हामीजस्तै संक्रमितलाई कहिलेसम्म हतोत्साहित बनाइरहन्छौ ?