कतारी राजकुमार हिमाल आरोहणका लागि नेपालमा, लागे आमादब्लमतर्फ
कतारका राजकुमार मोहम्मद विन अब्दुल्लाह अल थानी सोलुखुम्बुको आमादब्लम ( ६८१२ मिटर) हिमालको आरोहणमा गएका छन्। ४ कात्तिकमा नेपाल आएका राजकुमारको टोली एक साता काठमाडौंको होटल क्वारेन्टिनमा बसेपछि १० कात्तिकमा कैलाश एयरको हेलिकप्टरमार्फत् लुक्ला गएका हुन्।
लुक्लाबाट उनको टोली पैदल यात्रा गर्दै आमादब्लमतर्फ अगाडि बढिरहेको राजकुमारको आरोहण दलको संयोजन गरिरहेको हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्सपीडिसनका प्रवन्ध निर्देशक इश्वरी पौडेलले बताए।
पौडेलका अनुसार आरोहण टोलीको नेतृत्व एक अमेरिकी नागरिकले गरेका छन्। आरोहण टोलीमा ६ जना छन्। आरोहण गराउन आठ जना दक्ष नेपाली क्लाइम्बिङ गाइड खटिएका छन्।
आरोहण टोलीमा गाइड, भरिया सहयोगीसहित प्रत्यक्ष रूपमा ४० जनाको टोली खटिएको पौडेलले बताए। यो टोलीले करीब तीन साताभित्रै आमादब्लम हिमाल आरोहण गर्ने अनुमान गरिएको छ। मौसम अनुकुल भएको र टोलीले गरेको व्यस्थापन अनुसार सहज भए अबको अबको दुई साताभित्रै आरोहण सफल हुने अनुमान गरिएको हिमालयन गाइडले जानकारी दिएको छ।
कोभिडले थलिएको नेपालको पर्यटनमा सकारात्मक सन्देश दिन विदेशी उच्च ओहदाको टोलीको भ्रमण नेपाली पर्वतारोहणका लागि फलदायी हुने अनुमान गरिएको छ। यो वर्षको लागि आमादब्लम हिमालको पहिलो अनुमति लिएर राजकुमारको टोली आरोहणमा खटिएको छ।
यसअघि बहराइनका राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले २९ असोजमा मनास्लु हिमाल (८१५६ मिटर) र १७ असोजमा लोबुचे (६११९ मिटर)का् हिमाल आरोहण गरेर फर्किएको थियो।
नेपाली पर्वतारोणहमा कोभिडको असर परेको र आरोहण कम भइरहेको समयमा पनि विदेशी उच्च तहको व्यक्तिको नेपाल भ्रमण हुनु र आरोहणका लागि नै जानुलाई सकारात्मक रुपमा हेरिएको हिमालयन गाइडका प्रवन्ध निर्देशक पौडेल बताउँछन्।