एसएमएसमा मेसेजिङ एपको धावा, बढ्यो ‘थोक सन्देश’ को बजार
मोबाइल डाटाको सहज उपलब्धतासँगै मेसेजिङ एपहरूको प्रचलनले एसएमएसको प्रयोग खुम्चिंदै गए पनि ‘बल्क मेसेज’ को व्यवसाय कायमै छ।
२०६० सालको दशकसम्म मोबाइल फोन मार्फत छोटा सूचना र सन्देश पठाउन एमएमएस (सर्ट मेसेज सर्भिस) को प्रयोग व्यापक थियो। नयाँ वर्ष तथा चाडपर्वको शुभकामना दिन होस् वा एक–आपसमा भावना साटासाट गर्न एसएमएस नै रोजाइमा पर्थ्यो।
तर, पछिल्लो समय दूरसञ्चार सेवा प्रदायकले मोबाइल इन्टरनेट (डाटा) लाई प्राथमिकता दिंदा एसएमएस सेवाको प्रयोग घटिरहेको छ। मोबाइलमा थ्रीजी र फोरजी इन्टरनेट सुविधाका कारण सजिलै भ्वाइस तथा डाटा प्रयोग गर्न सकिने भएपछि व्यक्तिगत एसएमएसको प्रचलन घट्दै गएको हो।
मोबाइल नेटवर्क देशैभर पुगेको र फोरजी नेटवर्क विस्तार हुँदै जाँदा इन्टरनेट हातहातमा पुगेको छ। जसका कारण मोबाइल डाटाको सहज उपलब्धतासँगै सन्देश पठाउने ‘ट्रेन्ड’ नै ओटीटी (ओभर द टप) तर्फ मोडिएर मेसेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम, इमो जस्ता एप्लिकेसनको प्रयोग तीव्र गतिमा बढिरहेको छ।
मोबाइलमा इन्टरनेट चलाउनेमध्ये अधिकांशले सामाजिक सञ्जाल र मेसेजिङ एपको प्रयोग गर्ने गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले असोजमा सार्वजनिक गरेको २०७७ साउनसम्मको तथ्यांक अनुसार, सबै दूरसञ्चार सेवा प्रदायकको गरेर ३ करोड ६९ लाख ८४ हजार ८१४ वटा मोबाइल सिमकार्ड वितरण भएको छ। यीमध्ये १ करोड ७० लाख ४८ हजार ९९५ प्रयोगकर्ताले मोबाइलबाटै इन्टरनेट चलाउँछन्। देशमा इन्टरनेटका कुल प्रयोगकर्तामध्ये मोबाइलबाट डाटा चलाउने मात्रै ५७ प्रतिशत छन्।
बढ्दो थोक एसएमएस
व्यक्तिगत रूपमा सीमकार्डमा एसएमएस पठाउने प्रचलन घटिरहे पनि सामूहिक तथा संस्थागत रूपमा ‘बल्क एसएमएस’ पठाउने व्यवसाय भने बढिरहेको छ।
१० वर्षदेखि स्पारो एसएमएस सञ्चालन गर्दै आएका जानकी टेक्नोलोजीका निर्देशक अमित अग्रवाल एउटै सन्देश धेरैलाई पठाउन, समूहगत र संस्थागत सन्देश दिन बल्क अर्थात् थोक एसएमएसको प्रयोग बढिरहेको बताउँछन्।
शुरुका दिनमा लोडसेडिङको तालिका, एसएलसीको परीक्षाफल लगायत सेवा एसएमएसबाट दिन थालेको जानकी टेक्नोलोजीले अहिले पनि समूहमा सन्देश पठाउने सेवालाई निरन्तरता दिइरहेको छ। आफ्नो कम्पनीले समूहमा पठाइने एसएमएस वार्षिक १० करोड वटा पठाउने गरेको अग्रवाल बताउँछन्।
जानकी टेक्नोलोजीका निर्देशक अमित अग्रवाल व्यक्तिबीच हुने एसएमएस र बीटुसी कन्टेन्टलाई ओटीटीले विस्थापित गर्दै गए पनि बल्क एसएमएस पठाउने चलन भने अझै बढ्ने बताउँछन्।
विगतमा एसएमएसको व्यापक प्रचलन रहेको समयमा मोबाइल प्रयोगकर्ताहरूले बीटुसी कन्टेन्ट सेवा प्रदायकलाई एसएमएस पठाएर चुट्किला, कविता, शायरी जस्ता सामग्री लिन्थे। त्यस्ता कन्टेन्ट प्रयोगकर्ताहरूले एक–अर्कालाई पठाउँथे। तर, मोबाइल डाटाको प्रयोग बढेसँगै बीटुसी कन्टेन्टको युग नै समाप्त भएको छ।
जानकी टेक्नोलोजीका निर्देशक अग्रवाल व्यक्तिबीच हुने एसएमएस र बीटुसी कन्टेन्टलाई ओटीटीले विस्थापित गर्दै गए पनि बल्क एसएमएस पठाउने चलन भने अझै बढ्ने बताउँछन्। “व्यक्ति–व्यक्तिबीचको मोबाइल सन्देश घट्दै गए पनि एसएमएस हराउँदैन, ब्यांक तथा वित्तीय संस्थाले कारोबारमा एसएमएसको प्रयोग बढाउनु, संस्थागत रूपमा मोबाइलमै सन्देश प्रवाह गरिनुले यसको भविष्य छ भन्ने देखाउँछ”, अग्रवाल भन्छन्।
अधिकांश ब्यांकले मोबाइल ब्यांकिङ सेवा दिइरहेका छन्, जसमा ब्यांकका ग्राहकले एसएमएस मार्फत कारोबार गर्न सक्छन्। ब्यांकहरूले ग्राहकले कारोबार गरेपछि एसएमएस मार्फत सूचना तथा अटोमेटिक अलर्ट दिने गरेका छन्।
राष्ट्र ब्यांकका प्रवक्ता गुणकर भट्ट ब्यांक तथा वित्तीय संस्थालाई एसएमएस कारोबार अनिवार्य नगरिए पनि अधिकांशले आफ्ना ग्राहकको सहजताको लागि यस्तो सेवा दिइरहेको बताउँछन्।
पछिल्लो समय टेलिकम कम्पनीहरूले यूएसएसडी (अनस्ट्रक्स्टर्ड सप्लिमेन्टरी सर्भिस डाटा) मार्फत मेसेजको सेवा दिन थालेका थिए। तर, यसको प्रयोगले व्यापकता नपाउँदै मोबाइल डाटाको विस्तारले यसलाई खुम्च्याइदियो। यूएसएसडीको सेवा टेलिकम कम्पनीले मोबाइलको ब्यालेन्स चेक गर्न तथा टेलिकमकै अन्य सेवाको जानकारी दिन प्रयोग गरिरहेका छन्।
एसएमएसको कारोबार घट्दै
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका अनुसार, मोबाइल डाटा सेवाको प्रयोग बढेपछि एसएमएसको प्रयोग वर्षेनी घट्दै गएको छ। विगतका वर्षमा दशैं–तिहारमा एसएमएस कारोबार उत्साहजनक हुने गरे पनि पछिल्ला तीन–चार वर्षदेखि भने चाडबाडमा पनि यसको प्रचलन घटेको एनसेलले जनाएको छ।
चार वर्षअघि शुरु भएको फोरजी सेवाको शुरुआतसँगै डाटा सहज उपलब्धता र शुल्क सस्तो हुनुका साथै प्याकेजमा सेवा उपलब्ध गराउँदै गएका कारण एसएसएसको कारोबार कम भएको एनसेलले जनाएको छ।
एनसेलले उपलब्ध गराएको तथ्यांक अनुसार, २०७३ सालको तुलनामा २०७४ सालमा एसएमएस सेवाबाट आम्दानी १२ प्रतिशतले बढेको थियो। तर, यस्तो आम्दानी २०७५ सालमा तीन प्रतिशत र २०७६ मा थप १० प्रतिशत घटेको तथ्यांकमा उल्लेख छ।
चार वर्षअघि शुरु भएको फोरजी सेवाको शुरुआतसँगै डाटा सहज उपलब्धता र शुल्क सस्तो हुनुका साथै प्याकेजमा सेवा उपलब्ध गराउँदै गएका कारण एसएसएसको कारोबार कम भएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार, एसएमएसबाट आम्दानी घट्दै गए पनि डाटा सेवाको आम्दानी भने बढिरहेको छ।
इन्टरनेट सेवाका कारण मोबाइलका प्रयोगकर्ताका लागि मेसेन्जर, भाइबर, टीकटक लगायत बहुविकल्प हाजिर छन्। टिकटककै कारण इन्टरनेटको खपत २५ प्रतिशत बढेको इन्टरनेट सेवा प्रदायकको भनाइ छ। जसका कारण मोबाइलमा मग्न हुने समय बढ्यो भने एक–अर्कामा एसएसएस आदानप्रदान भने घट्न पुग्यो।
टेलिकमको एसएमएस कारोबार उत्साहजनक
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने डाटा खपत तीन गुणा बढे पनि एसएमएसप्रतिको ग्राहकको रुचि नघटेको दाबी गरेको छ।
व्यक्ति–व्यक्तिबीच एउटा सीमकार्डबाट अर्कोका पठाउने एसएसएसको चाप घटेको भनिए पनि नेपाल टेलिकमको तथ्यांक अनुसार, यो वर्ष दशैंको टीकाको दिनमा मात्रै २६ लाख ७० हजार वटा एसएमएस आदानप्रदान भए।
व्यक्ति–व्यक्तिबीच एउटा सीमकार्डबाट अर्कोका पठाउने एसएसएसको चाप घटेको भनिए पनि तथ्यांकले त्यस्तो नदेखाएको टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन्। उनका अनुसार, यो वर्ष दशैंको टीकाको दिनमा मात्रै २६ लाख ७० हजार वटा एसएमएस आदानप्रदान भए। यो संख्या अघिल्लो वर्षको दशैंको तुलनामा १ लाख ८० हजारले बढी भएकाले उनले जानकारी दिए।
टेलिकमका अनुसार, गएको वर्षको दशैंको टीकाको दिन २४ लाख ९० हजार वटा एसएमएस आदानप्रदान भएका थिए भने दशैं अवधिभरिमा एक करोड २८ लाख वटा एसएमएस भएको थिए। त्यसअघि २०७५ सालको दशैंमा एक करोड १० लाख एसएमएस आदानप्रदान भएका थिए। यस्तो एसएमएसमा भने ग्राहकले एक–अर्कालाई पठाउने मात्र नभई कम्पनी, सरकार र समूहगत रूपमा पठाउने एसएमएस पनि जोडिएको छ।