उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार गरिने
गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्।
उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडि बढाउने उनले बताए।
गृहमन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडि बढाउने बताए। आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने विषयलाई पनि सरकारले ध्यान दिने उनको भनाइ छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरूका लागि कडा कानूनको आवश्यकता रहेको बताए।
ट्राफिक नियम जानीजानी उलंघन गर्नेहरूमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाइ गर्नुपर्ने बताए। लाइसेन्स वितरण गर्दा थोरै लापरवाही भएपनि सवारीहरू सडकमा हतियारको रूपमा प्रयोग हुन सक्ने चेतावनी दिए।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गरे।