कांग्रेसले नेता केसीको शोकमा तीन दिन देशैभरका कार्यालयमा झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले पार्टीका नेता सूर्यबहादुर केसीको शोकमा तीन दिन केन्द्रीय कार्यालयसहित देशैभरका कार्यालयमा झण्डा आधा झुकाउने भएको छ। सोमबार राति निधन भएका प्रतिनिधि सभा सदस्य समेत रहेका नेता केसीको शोकमा कांग्रेसले १८, १९ र २० कात्तिकमा देशैभरका कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १९ कात्तिकमा केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय समेत गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहेका केसीको सोमबार राति १० बजे कास्कीको पोखरा महानगरपालिका–७, स्थित् आफ्नै निवासमा निधन भएको थियो।
कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार केसीलाई पहिले मधुमेह, मुटुको रोग र उच्च रक्तचाप थियो।
यसअघि नियमित औषधि सेवन गर्ने भएपनि उनलाई सोमबार कुनै स्वास्थ्य समस्या नभइ अचानक मृत्यु भएको परिवारको भनाइ उधृत गर्दै कांग्रेस कास्की सभापति कृष्ण केसीले बताए। पोखराका उद्योगी समेत रहेका उनी राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए।
उनी पहिलो संविधानसभा सदस्य समेत थिए। केसी पोखराका पूर्वप्रधानपञ्च पनि हुन्। केसीका श्रीमती र तीन छोरा छन्।