नेकपामा दोस्रो पुस्ता निरीह बन्दा पार्टीको साख खस्कँदै, नागरिकमाथि सास्ती थोपरिंदै
सम्भावनाको नजरले हेरिएका नेकपाको दोस्रो पुस्ताका नेताहरु पहिलो पुस्ताकै स्वार्थ र गुटको बचाउ गर्ने पंक्तिमा लामबद्ध बन्दा नेकपाको साख त खस्केकै छ, नागरिकले सरकारबाट सहयोग भन्दा सास्ती व्यहोर्नुपर्ने अवस्था समेत सामान्य बन्न थालेको छ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएयता यो पार्टी यतिखेर सम्भवतः अहिलेसम्मकै कठिन अवस्थाबाट गुज्रिएको छ। पार्टी फुट्ने अड्कलबाजी लगाउन थालिएको छ। यतिसम्म कि नेकपाकै नेता र कार्यकर्ताहरु पार्टी फुट्न लागेको अड्कलबाजी गरिरहेका छन्। अरु त अरु, नेकपाकै कतिपय प्रभावशाली नेताहरुले पार्टी विभाजनको सँघारमा पुगेको अर्थ लाग्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।
गएको आइतबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सचिवालयका सदस्यहरु, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासमक्ष प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ‘अलग अलग बाटो जाऔं’ भन्ने प्रस्ताव राखेको जानकारी गराए। त्यसपछि फुटको चर्चाले झनै बल पायो। पार्टीभित्र गत चैतदेखि झांगिदै गएको विवादबाट वाक्क भएका कतिपय कार्यकर्तासमेत ‘विवाद गर्नुभन्दा आ–आफ्नो बाटो लाग्न’ नेतृत्वलाई सुझाव दिन थालेका छन्।
“पार्टीमा केही समस्या आएको हो, अहिलेको अवस्थाले नेकपा विभाजन हुने कुरा गलत हो” - चक्रपाणि खनाल, स्थायी कमिटी सदस्य, नेकपा
यद्यपि नेकपा अहिले नै विभाजनको अवस्थामा छैन। किनभने अहिलेको विवाद र झगडा सिद्धान्तभन्दा केही पदीय भागबण्डाका लागि मात्र भएको धेरैको बुझाइ छ। दाहालनिकट नेकपा स्थायी कमिटी सदस्य चक्रपाणि खनाल पनि नेकपा विभाजन हुने हल्ला गलत भएको बताउँछन्। “पार्टीमा केही समस्या आएको हो, अहिलेको अवस्थाले नेकपा विभाजन हुने कुरा गलत हो”, खनाल भन्छन्।
अर्का स्थायी कमिटी सदस्य एवम् पार्टीमा संकट निम्तिएका वेला निर्णायक भूमिका देखाउने गरेका टोपबहादुर रायमाझी कम्युनिष्ट पार्टीमा विवाद हुनु स्वाभाविक प्रक्रिया भएको बताउँछन्। “पार्टीभित्र द्वन्द्व र अन्तरविरोध चलिरहन्छ, त्यो स्वाभाविक प्रक्रिया हो। द्वन्द्ववादको नियमअनुसार पनि द्वन्द्व निरपेक्ष हुन्छ, एकतासापेक्ष र अस्थायी हुन्छ”, उनी भन्छन्, “द्वन्द्वलाई अस्थायी रुपमा हल गर्दै जाने हो, स्थायी रुपमा समाधान भयो भने पार्टी नै रहँदैन।”
तर, उनले भनेजस्तो नेकपाभित्रको अहिलेको विवाद विचार र सिद्धान्तमा आधारित होइन। पदीय भागवण्डाको विषयलाई लिएर नेताहरुबीच विवाद बढेको हो। खासगरी मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर दुई अध्यक्षबीच खटपट चुलिएको देखिन्छ।
कहाँ हरायो दोस्रो पुस्ता ?
नेकपाको नेतृत्व तहमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल २०२६–२०३५ को दशकबाट राजनीतिमा सक्रिय बनेको पुस्ताका हुन्। नेकपाको बागडोर यही पुस्ताको हातमा छ। नौ सदस्यीय सचिवालयमा रहेको यही पुस्ताले नेकपा हाँकिरहेको छ। तर, जुझारु दोस्रो पुस्ताको ठूलो पंक्ति नेतृत्व तह बाहिर छ।
पहिलो पुस्तामा हुने पटक-पटकको विवादले पार्टी नै कोमामा पुग्ने स्थिति आउँदा उमेर, जोश, जाँगरका हिसाबले काँध थाप्नुपर्ने दोस्रो पुस्ता के गर्दैछ त? यो प्रश्नमा घोत्लिँदा आउने उत्तर भने आशलाग्दो छैन। पार्टी राजनीतिलाई काँध थाप्नुपर्ने यो पुस्ता गुटगत राजनीतिमा लागेर पहिलो पुस्ताकै आसपास फन्को लगाइरहेको भेटिन्छ। नेकपामा प्रभावहीन जस्तै देखिएको यो पुस्ताले स्वयम्मा संकटका वेला नेतृत्व गर्नुपर्ने अवसर गुमाउँदै गएको छ, अनि पहिलो पुस्ताको असफलताको भागिदार बन्ने खतरा पनि सँगसँगै बोकिरहेको छ।
वाम राजनीतिका विश्लेषक श्याम श्रेष्ठ नेकपाभित्रको दोस्रो पुस्ता सक्रिय भए पनि निरीह र पहिलो पुस्ताको लाचार छायाँ मात्र भइरहेको बताउँछन्। “पहिलो पुस्ता ज्यादै अटेरी छ। एकदमै निरंकुश पनि। दोस्रो पुस्ता चाहिं निरीह छ। उनीहरु समय-समयमा पहलकदमी लिएर.सहमति निकाल्छन् तर, उक्त सहमति दुवै अध्यक्षले पालना गर्दैनन्,” श्रेष्ठ भन्छन्। दोस्रो पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्नुपर्ने तर त्यसो गर्न नसकेको उनको भनाइ छ।
वाम राजनीतिका अर्का विश्लेषक झलक सुवेदी चाहिं दोस्रो पुस्ताले पार्टीमा हस्तक्षेपकारी भूमिका खेलेर नै नेकपालाई बचाएको तर्क गर्छन्। “हस्तक्षेपकारी भूमिका दोस्रो पुस्ताले खेलेको छ। वैशाख-जेठमा पार्टी फुट्न खोजेको थियो, यही पुस्ताले हस्तक्षेप गरेर पार्टीलाई बचाएको हो,” सुवेदी भन्छन्।
तर, नेकपाको संगठन ‘ब्युरोक्रेसी’ शैलीको भएको उनी बताउँछन्। “तलकाले माथिकालाई आदरणीय कमरेड भन्नुपर्ने, यो भएन, यो हो, हामी गर्छौ भन्न दोस्रो पुस्ताले सकेको छैन”, उनी भन्छन्।
नेकपामा रहेको दोस्रो पुस्ता लेनिनवादी स्कूल र परम्पराबाट आएको हुनाले सार्वजनिक रुपमा खुल्न नसकेको सुवेदीको तर्क छ। उनको भनाइमा लेनिनवादी परम्परामा पार्टीको मञ्चमा ‘यो नीति ल्याएर मैले पार्टी चलाउँछु’ भन्न पाइन्छ, तर सार्वजनिक बोल्न पाइँदैन। “त्यही परम्परालाई दोस्रो पुस्ताले समातेजस्तो देखिन्छ”, उनी भन्छन्।
सुवेदी दोस्रो पुस्ताका नेता शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, घनश्याम भुसाल, पृथ्वी सुव्बा गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, योगेश भट्टराई, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल लगायतसँग नेकपा हाँक्ने क्षमता भएको दाबी गर्छन्। अनौठो त के छ भने यिनै नेताहरु नै अहिले आफ्नो गुटको बचाउमा सक्रिय देखिन्छन्।
यो बेग्लै हो कि पहिलो पुस्ताका नेताहरुबीच विवाद हुँदा दोस्रो पुस्ताका यिनै नेताले नेतृत्वलाई एक ठाउँमा ल्याउन पहल गरेका पनि छन्। तर, त्यो निकै कम छ। दोस्रो संविधानसभाको कार्यकालमा संविधान जारी गर्ने विषयलाई लिएर दुईतिर फर्केका तत्कालीन एमाले र माओवादीको पहिलो पुस्ताका नेतालाई एउटै टेबलमा बसाल्न निर्णायक भूमिका खेल्ने यही पुस्ता थियो। त्यसैगरी तत्कालीन एमालेको आठौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित झलनाथ खनाल र केपी शर्मा ओलीबीच बोली बाराबारको स्थिति हुँदा पनि दोस्रो पुस्ताले नै समन्वयकारी भूमिका खेलेको थियो।
नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली संकटको बेला आफूहरुले नै प्रयास गरेर कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थासम्म आइपुगेको बताउँछन्। यसभन्दा अघि पनि पटक-पटक दूरी बढाउने गतिविधि हुँदा दोस्रो पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ।
“हामीले एकता हुँदा एउटा विधि बनाएका छौं जहाँ सहमति बाहेक अर्को बाटो नै छैन। मुख्यगरी दुई अध्यक्षबीचमा सहमति केन्द्रित भएको छ। दुईजना अध्यक्षबाहेकको सहमतिको विकल्प हाम्रो विधानले चिन्दैन,” ज्ञवाली भन्छन्, “हस्तक्षेप पनि उहाँहरुलाई सहमत गराउनका लागि हुने हो।” हस्तक्षेप र सहमति एकताको संक्रमणकालीन व्यवस्थामै रहेर गर्नुपर्ने भएको हुनाले दोस्रो पुस्ताको प्रयास जति हुनुपर्ने हो त्यति प्रभावकारी नदेखिएको हुनसक्ने उनको भनाइ छ।
“हामीले एकता हुँदा एउटा विधि बनाएका छौं जहाँ सहमति बाहेक अर्को बाटो नै छैन। मुख्यगरी दुई अध्यक्षबीचमा सहमति केन्द्रित भएको छ। दुईजना अध्यक्षबाहेकको सहमतिको विकल्प हाम्रो विधानले चिन्दैन, हस्तक्षेप पनि उहाँहरुलाई सहमत गराउनका लागि हुने हो।”
- प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य, नेकपा
देश अहिले कोरोनाभाइरस संक्रमणको महामारीले आक्रान्त छ। महामारी र यसका अनेक दुष्प्रभावले नागरिकको बेहाल छ। तर, नेकपाको नेतृत्व यस्तो बेला पनि गुटगत स्वार्थको लडाईंमा तल्लीन छ। नागरिकको बेहालभन्दा पदीय भागबण्डा नेकपा नेतृत्वको प्राथमिकता बनेको छ। यस्तो बेला पनि सरकार र पार्टीको नेतृत्वलाई नागरिकका पीडामा केन्द्रित हुनका लागि दबाब दिन दोस्रो पुस्ताले कुनै हस्तक्षेपकारी भूमिका वहन गर्न सकेको देखिंदैन।
नेतृत्वमा कहिले ?
नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी र ४५ सदस्यीय स्थायी कमिटीमा विद्यार्थी तथा विभिन्न जनवर्गीय संगठनबाट खारिएर आएका युवाहरुको दोस्रो र तेस्रो पुस्ताको संख्या ठूलो छ। उनीहरुसँग पहिलो पुस्ताबाट सिकेको र उनीहरुसँगै काम गरेको अनुभव पनि छ। अहिले नै दोस्रो पुस्ता ५० देखि ६० वर्ष उमेर समूहको बीचमा छ।
अहिलेको पहिलो पुस्ता कतिपयले ५० वर्ष नपुग्दै पार्टीको कमाण्ड सम्हालेका थिए। कतिपय ५०–६० वर्षबीचमा नेतृत्वमा पुगे। तत्कालीन एमाले महासचिव मदन भण्डारीको मृत्युपछि माधवकुमार नेपाल पार्टी महासचिव हुँदा ४० वर्षका थिए।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा एमालेले अल्पमतको सरकार बनाउँदा महासचिव नेपाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए। त्यही वेला उनको अन्तर्राष्ट्रिय छवि बन्यो। त्यही मन्त्रिमण्डलमा केपी शर्मा ओली गृहमन्त्री भएर कार्यकुशलता देखाए। यद्यपि उनी तत्कालीन एमालेको प्रभावशाली नेतामा पर्दैनथे।
यसरी अवसर पाएर नेतृत्वमा स्थापित उक्त पुस्ता अहिले दोस्रो पुस्तालाई स्थापित गराउनै चाहँदैन। तर, त्यही दोस्रो पुस्तासँग कार्यकर्ताको आशा र भरोसा छ। उसो भए कहिले निर्णायक नेतृत्वमा पुग्छ त यो पुस्ता ?
विश्लेषक सुवेदी पाँच वर्षपछि आउने महाधिवेशनबाट मात्र पहिलो पुस्ता पाखा लाग्ने आकलन गर्छन्। “यसपटक सहमति र एकताको महाधिवेशन भनिएकाले यो पुरानो नेतृत्वको सबै बढारिएनन् भने अर्को महाधिवेशनबाट बढारिन्छन्। नेकपामा संक्रमणको प्रक्रिया आरम्भ भइसकेको छ। पाँच वर्षपछि दोस्रो पुस्ताले नेतृत्व हाँक्छ”, उनी भन्छन्।
अर्का विश्लेषक श्रेष्ठ पनि नेकपाको दोस्रो पुस्ताभित्र पार्टी हाँक्न सक्ने नेता तयार भइसकेको बताउँछन्। नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी भने पहिलो पुस्ताले नेतृत्व गर्न नसक्नेबित्तिकै स्वतः विस्थापित हुने तर्क गर्छन्।