अभ्यासको तयारीमा जुटे कराते खेलाडी
कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन। अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउनुपर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन्। टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडी मंगलबार सातदोबाटोस्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका देखिन्थे।
नौ महीनादेखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनुपर्ने चौतर्फी दबाब आएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सीमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ। खेलाडी स्वयं आफैंले विभिन्न माध्यमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिटफुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन्।
यसैमध्येका कराते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन्। घर बसाइँ पट्यार लाग्दो भइसकेको र अभ्यासमा फर्किन आतुर रहेकी कराते खेलाडी अनु अधिकारीले अभ्यासले आफूलाई उत्साह मिलेको बताइन्।
अधिकारीले खेलाडीलाई घर बसाइँले फिटनेसमा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकुद परिषदमार्फत् खेलाडीलाई अभ्यासको वातावरण मिलाइदिन समेत आग्रह गरिन्।
नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नविन रसाइली पनि अभ्यसमा फर्किन पाउँदा दंग देखिन्छन्। कोरोनाले असर पारेको भन्दै नविनले घरको वातावरण मात्र भन्दा पनि म्याटको अभ्यास आवश्यक भएको बताए।
मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बहाना बनाएर खेलकुद गतिविधि रोक्न नहुने तर्क राख्दै आएका छन्। खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रियस्तरमा अन्य देशले अबलम्बन गरेको विधिजस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नुपर्ने समय आएको र सोही अनुसार खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाएको श्रेष्ठले बताए।
नेपाली खेलाडीलाई टोकियो ओलम्पिक र्याकिङका आधारमा त्यति सहज छैन। यद्यपि, वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई कोरोना महामारी थप बाधक बनेको छ।