खुलामञ्चमा खाना खुवाउने कामलाई निरन्तरता दिन गगन थापाको अपील
नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चलगायत सार्वजनिकस्थलमा सञ्चालन भइरहेको निःशुल्क खाना खुवाउने अभियान नरोक्न अपील गरेका छन्।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन बन्द गर्न निर्देशन दिएपछि थापाले खाना खुवाउने अभियानलाई निरन्तरता दिन अपील गरेका हुन्।
‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई, काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
थापा गएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित सांसद हुन्।
खुलामञ्चमा ‘हन्ड्रेड्स ग्रुप्स’लगायत विभिन्न समूहले नि:शुल्क खाना खुवाउँदै आएका छन्। विगत २२० दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ले कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खाना खुवाउँदै आएको छ।
महानगरले खुलामञ्चमा खाना खुवाउन नदिए पनि अन्य खुला सार्वजनिक स्थानमा अझै केही दिन खाना खुवाउने नि:शुल्क खाना वितरणको नेतृत्व गरिरहेका ‘हन्ड्रेड्स ग्रुप्स’का अन्शु यादवले बताए।
खुलामञ्चमा खाना वितरणमा रोक लगाउने महानगरकाे निर्णयको चाैतर्फी आलोचना भइरहेको छ।