कोरोना संक्रमणका कारण भूपू ब्रिटिश गोर्खा सैनिक आन्दोलनका प्रमुख इस्बोको निधन
कोरोना संक्रमणका कारण भूपू ब्रिटिश गोर्खा सैनिक आन्दोलनका प्रमुख एवं सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्बोको निधन भएको छ। मधुमेह एवं छालाको क्यान्सरको उपचार गराइरहेका इस्बोलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित् न्यूरो अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको मंगलबार बिहान निधन भएको हो।
उनी भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सङ्घका पूर्व अध्यक्ष हुन्। इस्बो भूपू गोर्खा सैनिकहरूको आन्दोलनको प्रमुख योद्धा थिए। ब्रुनाईमा भूपूहरूको हक अधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो, ती मध्ये इस्बाे एक हुन्। त्यसपश्चात धरानमा रहेर नेपालमा भएको भूपू गोर्खा सैनिकहरूको आन्दोलनमा गेसो सुनसरीको नेतृत्व गरेका थिए।
बेलायती सैनिक सरह गोर्खा सैनिकले तलब भत्ता पाउनुपर्ने माग राख्दै आएका थिए। धरानको विकास निर्माणमा लाहुरेहरूलाई सहभागिता गराउन उनको महत्वपूर्ण योगदान रहेको मानिन्छ।
इस्बोको नेतृत्वमा भुपू सैनिकहरूको संस्था गेसोको गठन, गोर्खा सैनिक भवन, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कको निर्माण र गोर्खा सहकारी स्थापना र सञ्चालन भएका थिए। उनी पछिल्लो समय राजनीतिमा पनि सकृय रहेका थिए। जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए। उनी धरानको मेयरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार समेत भएका थिए।