मुलुकभरी २०० गार्डेन मार्ट सञ्चालन गर्दै शिवशिखर, तुलसीपुरमा खुल्यो तेस्रो मार्ट
शिवशिखर बहुउद्देश्यीय सहकारीले मुलुकभर २०० वटा गार्डेन मार्ट सञ्चालनमा ल्याउने भएको छ। डडेलधुरा र भक्तपुरमा मार्ट सञ्चालनपछि अर्को नयाँ स्थानको रूपमा दाङको तुलसीपुर रोजिएको सहरकारीले जानकारी दिएको छ।
संस्थाले तेस्रो मार्टको रूपमा सोमबार तुलसीपुरमा ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको हो। सहकारी संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौतमले बहुउद्देश्यीय प्रकृति अनुसार नै ‘गार्डेन मार्ट’ सञ्चालन गरेर देशैभर पुग्ने तेस्रो खुड्किलो तय गरेको बताए।
उनले संस्थाको उद्देश्य मुलुकका विभिन्न क्षेत्रमा २०० वटा मार्ट सञ्चालनमा ल्याउने रहेको र सोही अनुसारको योजना बनाए अगाडि बढेको पनि बताए।
सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने मार्ट सञ्चालनमा ल्याएको बताएको छ। मोफसलका ग्राहकलाईसमेत आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याइएको संस्थाका मुख्य प्रबन्धक गौतमले बताए।
उनका अनुसार यो मार्टमा उपकार ब्रान्डलगायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री पाइन्छन्।
आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्ट, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, झोलागायतका सामग्री बिक्रीका लागि राखिएको छ। शुभारम्भको अवसरमा मार्टले सम्पूर्ण सामग्रीहरूमा विषेश छुट समेत दिएको छ।
बहुउद्देश्यीय सहकारी भएकाले यसले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यले अन्य विभिन्न क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ।
उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सबै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन् भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको मुख्य प्रबन्धक गौतम बताउँछन। गौतमका अनुसार मार्टमा स्थानीय ५० भन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी समेत पाएका छन्।