अमेरिकामा आज राष्ट्रपति निर्वाचन, ट्रम्प र बाइडेनको ध्यान ‘निर्णायक’ राज्यतर्फ
अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिश्पर्धामा छन्।
निर्वाचनको अन्तिम समय दुवै उम्मेद्वारले आफ्नो ध्यान निर्णायक मानिएका राज्यमा केन्द्रित गरेका छन्। प्रचारको अन्तिम दिन सोमबार राष्ट्रपति ट्रम्प नर्थ क्यारोलिना, पेन्सिल्भानिया र विस्कन्सिन पुगे। उता बाइडेनले भने पेन्सिल्भानिया र ओहियोमा प्रचार गरे।
अमेरिकामा अग्रिम मतदान गर्न पाइने व्यवस्था छ। अहिलेसम्म नौ करोड ९७ लाख मतदाताले मतदान गरिसकेका छन्। ताजा सर्वेक्षणहरुमा बाइडेन अगाडि देखिएको बीबीसीले उल्लेख गरेको छ। तर, उनी साँघुरो अग्रतामा रहेकाले धेरै इलेक्टोरल मत भएका राज्यले परिणाम बदल्न सक्ने उल्लेख गरिएको छ।
क्यालिफोर्निया राज्यसँग सबैभन्दा बढी ५५ इलेक्टोरल मत छ। त्यस्तै टेक्साससँग ३८ र न्यूयोर्क तथा फ्लोरिडासँग २९/२९ मत छ। अमेरिकी निर्वाचन प्रणालीअनुसार अधिकांश राज्यमा विजयी पार्टीले सबै इलेक्टोरल मत पाउँछ।
जम्मा ५३८ इलेक्टोरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ। यसपटकको निर्वाचनमा विस्कन्सन, मिचिगन, पेन्सिल्भानिया, जर्जिया, फ्लोरिडा, नर्थ क्यारोलिना र एरिजोनालाई निर्णायक राज्य मानिएको छ। यी राज्यमा प्रतिश्पर्धा तीव्र हुने अनुमान गरिएको छ।
धेरै इलेक्टोरल मत भएका कतिपय राज्यमा परम्परागत रुपमा मतदान हुन्छ। ५५ इलेक्टोरल कलेज भएको क्यालिफोर्नियाको मत प्रायः ड्मोक्र्याटिक पार्टीतर्फ जान्छ। यहाँ सन् २०१२ मा बाराक ओबामा र सन् २०१६ मा हिलारी क्लिन्टन विजयी भएका थिए।
त्यस्तै ३८ मत भएको टेक्सासको मत प्रायः रिपब्लिकनतर्फ जान्छ। सन् २०१६ मा यहाँ ट्रम्प र सन् २०१२ मा रिपब्लिकन उम्मेद्वार मिट रोम्नी विजयी भएका थिए। त्यसैले मध्यम इलेक्टोरल मत भएका केही राज्यलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिन्छ।