दिल्ली आईपीएलको क्वालिफायर चरणमा, पराजित भएको बैङ्लोर पनि प्लेअफमा
रोयल च्यालेन्जर्स बैङ्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणमा दोस्रो स्थान ओगटेको छ। योसँगै क्वालिफायर चरणमा पुगेको दिल्लीले फाइलन प्रवेशका लागि मुम्बईसँग प्रतिश्पर्धा गर्नेछ।
भर्खरै सकिएको खेलमा १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा भेट्टायो। उसका लागि अजिन्क्या रहानेले ६० तथा ओपनर शिखर धवनले ५४ रन बनाए। बैङ्लोरका लागि शाहबाज अहमदले दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको बैङ्लोरले २० ओभरमा सात विकेट गुमाउँदै १५२ रन बनाएको थियो। उसका लागि देवदत्त पाडिक्कालले ५० तथा एबीडी भिलियर्सले ३५ रन बनाएका थिए। दिल्लीका एनरिच नोत्र्जेले तीन तथा कागिसो राबाडाले दुई विकेट लिएका थिए।
पराजित भएको बैङ्लोर पनि प्लेअफमा पुगेको छ। समान १४ अंक भए पनि राम्रो रनरेटका कारण कोलकाता नाइट राइडर्सभन्दा माथि तेस्रो स्थानमा रहेर बैङ्लोर प्लेअफमा पुगेको हो। तर, कोलकाताले भने प्लेअफका लागि मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच मंगलबार हुने खेलको नतिजा कुर्नुपर्ने भएको छ।
हैदराबाद १२ अंकसहित पाचौँ स्थानमा छ। तर, उसको रनरेट राम्रो भएको कारण मुम्बई इन्डियन्सलाई पराजित गरेको खण्डमा तेस्रो स्थान कब्जा गर्नेछ। त्यसो हुँदा बैङ्लोर चौँथोमा झर्छ भने पाचौँ स्थानमा झर्ने कोलकाता प्रतियोगिताबाट बाहिरिने छ। तर, मुम्बईले जितेको खण्डमा कोलकाता प्लेअफमा पुग्नेछ।