विरोध चुलिँदा पनि काठमाडौं महानगरले फेरि भन्यो- 'भोलिदेखि खुलामञ्चमा खाना वितरण गर्न पाइन्न'
व्यापक विरोध हुँदा पनि काठमाडौं महानगरले खुलामञ्चमा निशुल्क खाना वितरण गरिरहेको समूहलाई भोलिदेखि वितरणमा रोक लगाउने भएको छ।
आज भने महानगरपालिकाले खुलामञ्चमा निशुल्क खाना वितरण गर्न दिएको छ। तर, भोलीबाट जसरी पनि बन्द गर्न निर्देशन दिएको निशुल्क खाना वितरण नेतृत्व गरिरहेका ‘हन्ड्रेड्स ग्रुप्स’ का अन्शु यादवले हिमालखबरलाई बताए।
महानगरपालिकाले फोन गरेर आजैबाट निशुल्क खाना वितरण बन्द गर्न निर्देशन दिएको थियो। तर, आज वितरण गर्ने खाना पाकिसकेकोले वितरण गर्न दिन यादवले अनुरोध गरेका थिए। अनुरोध गर्दा पनि खाना वितरण नगर्न भनिएको थियो। महानगरले वितरण बन्द गर्न भनेपनि पाकेको खाना फ्याँक्न नमिल्ने भन्दै उनीहरूले खाना लिएर खुलामञ्च पुगेका थिए।
त्यसपछि महानगरपालिकाले भोलिदेखि खाना वितरण नगर्न भनेको छ। महानगरले फोहोर भएको भन्दै निशुल्क खाना वितरणमा रोक लगाउने तर्क गरेको यादवले बताए। उनी भन्छन् “हामीले खाना खुवाईसकेपछि फोहोरमैला उठाएर सफा गरेर मात्रै हिँड्ने गरेका छौं। त्यो भन्दा बाहेक हरेक शनिबार बिहान ८ बजे पनि सफा गरिरहेका छौं।”
खुलामञ्चमा निशुल्क खाना खुवाउने अरू पनि समूह छन्। उनीहरूले पनि आफूहरूले जसरी नै सफा गरेको देखेको यादवको भनाइ छ। विगत दुई सय बीस दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ ले कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खाना खुवाउँदै आएको छ।
महानगरले खुलामञ्चमा खाना खुवाउन नदिए पनि अन्य खुला सार्वजनिक स्थानमा अझै केही दिन खाना खुवाउने उनले बताए। “हामीले बाध्यतामा परेकाहरूलाई केही सहज बनाईदिन खोजेका हौं। रहरले कोही पनि सार्वजनिक स्थानमा निशुल्क बाँडेको खाना खान आउँदैन”, उनले भने, “यदि हामीले निशुल्क खाना वितरण गर्न मिल्दैन भने महानगरले उहाँहरुको खाना व्यवस्था गरिदिओस्। यता छोडेर महानगरलाई सहयोग गर्न तयार छौं।”
काठमाडौं महानगरपालिकाले भने नागरिकहरूकै गुनासोको कारण बन्द गर्न आग्रह गरेको जनाएको छ। यातायात संचालनमा आएको र मान्छेको चाप पनि बढ्दै गएपछि आउजाउमा समस्या भएको नागरिकहरूले गुनासो गरेको महानगर प्रवक्ता ईश्वरमान डंगोलले बताए। निशुल्क खाना वितरण गर्ने समूहहरूको सेवाभावको कदर गर्दै यातायात र मान्छेको भीडबीच धुँवा धुलोमा खाना वितरण भईरहेकोले स्थानको विकल्प रोज्न आग्रह गरेको उनले बताए। डंगोलले भने “बन्दाबन्दी खुलेसँगै मान्छेको भीड, यातायात संचालनले नागरिकको आउजाउमा समस्या हुनुनका साथै भीडभाड र धुँवाधुलोले खाना खानेलाई पनि असर गरिरहेकोले विकल्प रोज्न आग्रह गरेका हौं।”
प्रवक्ता डंगोल निशुल्क खाना वितरण गर्ने समूहहरुले खुलामञ्चको विकल्पमा पार्टी प्यालेसहरू रोज्नसक्ने बताउँछन्। उनी भन्छन् “उहाँहरूले पार्टी प्यालेसहरूसँग समन्वय गरेर खुलामञ्चको विकल्पको रुपमा प्रयोग गर्न सक्नुहुन्छ। अहिले खाली भएर बसेका पार्टी प्यालेसहरुले यस्तो राम्रो कामका निम्ति नमान्ने सम्भावना कम हुन्छ।”