नेपालगञ्ज उपमहानगरपालिकाकी महिला वडा सदस्यको कोरोनाबाट मृत्यु
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।
नेपालगन्जको घरबारी टोल निवासी परियारलाई यही ३ कात्तिकमा कोरोना पुष्टि भएको थियो। उनी ४ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन्। विभिन्न विधिवाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ। बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन्।
यसैबीच, आजै भेरी अस्पतालमा गरीएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। अस्पतालद्धारा आज दिउँसो पौने ४ बजे जारी गरीएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो। अस्पतालका अनुसार थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन्।
यसैगरी बाँकेमा आजै ४४ कोरोना सङ्क्रमित निको भएका छन्। जिल्लाका विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला निको भएका छन्। योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ। स्रोत व्यक्ति श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ। अहिले जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका २०७ र अन्य जिल्लाका १३ गरी २२० जना रहेका छन्।