ईश्वर पोखरेल भन्छन्- 'दाहालको दोहोरो प्रवृत्तिका कारण नेकपामा समस्या आयो'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालकै कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका छन्।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए।
उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए। "बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी, छलफल हुन्छ, कुराहरु हुन्छ। समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर काउन्टर रणनीतिक योजना बनाउनुहुन्छ। त्यही योजना यता ल्याउनुहुन्छ। समस्या त खडा हुने नै भयो", उनले भने।
उनले दुई वटा अध्यक्षको बीचमा छलफल र सहमति गर्ने, यदि सहमति हुन सकेन भने आ-आफ्नो विश्वासिला साथीहरू दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर स्पष्ट पार्नुपर्ने बताए। त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पुर्याउने कुरा गरे समस्याको समाधान हुने उनको तर्क छ। उनले अहिले त्यसो नगर्नाले नै अवस्था बिग्रेको बताए।
पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुनसक्ने उनको भनाइ छ। पोखरेलले पार्टी एकता गर्दाखेरिको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको बताए। "फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर अगाडि बढ्नु पर्यो। यदि सकारात्मक निष्कर्षमा पुर्याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन। यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ", उनले भने।
अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए। "अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरूअरू साथीहरूसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दबाब सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन, उचित हुँदैन। त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्याउँछ", उनले भने।
नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केही पनि काम गर्न नसकेको समेत बताए। यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए।