आठ वटा सरकारी प्रयोगशालाबाट कोरोना परीक्षण शून्य
पछिल्लो २४ घण्टामा २१ निजी प्रयोगशालाले ७ हजार ७६३ वटा नमूना पीसीआर परीक्षण गर्दा ३४ सरकारी प्रयोगशालाले जम्मा ५ हजार ६८३ जनाको मात्र कोरोना परीक्षण गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै मुलुकमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ भने यीमध्ये ३७ हजार ५२४ सक्रिय संक्रमित छन्।
१७ कात्तिकसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमणबाट ९८४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मुलुकभरका प्रयोगशालामार्फत १३ हजार ४४६ जनाको कोरोना परीक्षण भएको छ।
यीमध्ये २ हजार ९३३ जनामा कोरोना पोजिटिभ देखिएको हो। सोमबारको तथ्यांकलाई आधार मान्दा मुलुकमा कोरोनाको संक्रमण दर २१.८१ प्रतिशत छ। यसरी कोरोना संक्रमित हुनेहरूको संख्या बढिरहँदा क्षमता अनुसारको परीक्षण भने हुनसकेको छैन।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४२ सरकारी र २४ निजी गरी कुल ६६ प्रयोगशालालाई कोरोना गर्न अनुमति दिएको छ। ६६ प्रयोगशालाको दैनिक कोरोना परीक्षण गर्ने क्षमता झण्डै २५ हजार भए पनि परीक्षण बढ्नै सकेको छैन।
स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४२ सरकारी प्रयोगशालामध्ये आठ वटाले कोरोना परीक्षण नै नगरेको भेटिएको छ।
कोशी अस्पताल विराटनगर, बर्दिबास कोभिड–१९ प्रयोगशाला, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, सुर्खेत प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगायतका प्रयोगशालामार्फत पछिल्लो २४ घण्टामा कोरोना परीक्षण हुन सकेन।
स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकले पछिल्लो २४ घण्टामा सञ्चालन भएका ३४ सरकारी प्रयोगशालाले ५ हजार ६८३ जनाको मात्र कोरोना परीक्षण गरेको देखिएको छ। सोही अवधिमा २१ निजी प्रयोगशालाले भने ७ हजार ७६३ जनाको कोरोना परीक्षण गरेको तथ्यांकले देखाएको छ।
२१ निजी प्रयोगशालाले ७ हजार ७६३ जनाको कोरोना परीक्षण गर्दा प्रतिव्यक्ति स्वाब परीक्षण दर रु. २००० का आधारमा २४ घण्टामा १ करोड ५५ लाख २६ हजार आम्दानी गरेको देखिन्छ।
स्वास्थ्य मन्त्रालयको १६ कात्तिकको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ सरकारी ल्याबले एक जनाको पनि कोरोना परीक्षण गरेनन्।
कोरोना परिक्षण गर्न नसकेका अस्पताल तथा प्रयोगशालाहरूमा नारायणी अस्पताल वीरगञ्ज, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलीखेल, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा, नेपाल एपिएफ अस्पताल बलम्बु, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत थिए।
विज्ञहरूले आउँदा दिनमा मुलुकमा कोरोनाको संक्रमण झनै बढ्ने खतरा भएकाले समयमै कोरोना संक्रमित पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने र परीक्षणलाई बढाउनु पर्ने बताउँदै आइरहेका छन्।