नेकपा अध्यक्षद्वयलाई यामलाल कँडेलको प्रश्न- ‘२७ असोजमा जारी पत्रको प्रगति के भयो ?’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सहइञ्चार्ज यामलाल कँडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णालीको विवादका विषयमा हस्ताक्षर गरेको पत्रको प्रगति माग गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे नेकपा कर्णाली प्रदेशको विवाद चरम उत्कर्षमा पुगेपछि ओली–दाहालले २७ असोजमा पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यहोराको पत्र अनुसार प्रदेशका नेताहरू सबै काठमाडौं आएको उल्लेख गर्दै त्यसको प्रगति कहाँ पुगेको भन्दै कँडेलले लिखित रूपमा जवाफ माग गरेका छन्।
पार्टी अध्यक्षद्वयलाई सम्वोधन गर्दै ४ पृष्ठ लामो लिखित पत्रमार्फत् कँडेलले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला यस्तो पत्र लेखेका हुन्। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ताको नेतृत्व गरेका प्रदेश सभा सदस्य कँडेलले आइतबार अविश्वास प्रस्ताव पेश भएपछि उत्पन्न परिस्थितिका सम्बन्धमा भन्दै पाँच वटा प्रश्नसहित गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेकपामा गुट उपगुट अन्त्य गर्ने भनेपनि विषयका आधारमा एक ठाउँमा उभिएका सांसदलाई हतोत्साहित गर्ने काम भएको कँडेलले पत्रमा उल्लेख गरेका छन्। ‘विषयका आधारमा उभिएका प्रदेश सभा सदस्यलाई नेतृत्व तहबाट नै हतोत्साहित गर्ने काम भयो, व्यक्तिको निष्ठा र इमानमा जनस्तरबाट प्रश्न उठाउने परिस्थिति निर्माण गरियो’ कँडेलले बुझाएको पत्रमा भनिएको छ, ‘केन्द्रीय नेतृत्व तहबाटै भएको यस्तो क्रियाकलाप र गतिविधिले एकतावद्ध पार्टी निर्माण सम्भव छ ?’
अध्यक्षद्वयले कर्णाली प्रदेश सभाभित्र उत्पन्न समस्यालाई यथास्थानमा राखेर काठमाडौं आउन निर्देशन दिए पनि मुख्यमन्त्री पक्षले ७ कात्तिकमा एकपक्षीय रूपमा दलको बैठक आयोजना गर्नु नियमसंगत थियो? भनी कँडेलले प्रश्न गरेका छन्। ‘त्यो बैठकबाट कर्णालीमा देखिएका समस्याको समाधान भयो र ?’ उनले सोधेका छन्।
आफूहरू पार्टीको इमान्दार कार्यकर्ता रहेकोले अध्यक्षद्वयको पत्रका आधारमा काठमाडौं आएको भन्दै समस्या समाधान गर्नुको साटो उल्टै समस्या बढेको कँडेलले पत्रमा उल्लेख गरेका छन्।