खुलामञ्चमा निशुल्क खाना वितरण गर्ने समूहलाई काठमाडौं महानगरपालिकाले भन्यो- 'फोहोर भयो, खाना वितरण बन्द गर'
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक र असहायलाई खाना दिने समूमाथि रोक लगाउन निर्देशन दिएको छ।
विगत दुईसय बीस दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ ले कोरोनाका कारण समस्यामा परेकाहरूलाई दैनिक निशुल्क खाना खुवाउँदै आएको छ। निशुल्क खाना वितरण अभियान नेतृत्व गरिरहेका अन्शु यादवलाई आज साढे दुई बजेतिर फोन गरेर आजदेखि खाना नबाँड्न भनेको बताए।
आज वितरण गर्ने खाना पाकिसकेको र फ्याँक्न नमिल्ने भएकोले वितरण गर्न दिन अनुरोध गर्दा सिडियो कार्यलयबाट निर्देशन आएकोले बन्द गर्नुपर्ने बताएको यादवले जानकारी दिए। “आज वितरण गर्ने खाना पाकिसकेपछि फोन आयो। सहयोगी मन भएकाहरूले परिश्रम गरेर कमाएको कमाईको केही प्रतिशत दिनुभएको रकमले पकाएको खाना कसरी फ्याँक्नु?”, उनले भने। फोनमा महानगरले सार्वजनिकस्थलमा फोहोर गरेको भन्दै बन्द गर्न भनेको यादवले बताए।
उनी भने आफूले सरसफाई समेत गरिरहेको दाबी गर्छन्। “यदि हामीले समस्यामा परेकाहरूलाई खाना बाँड्न नमिल्ने हो भने समयमा जानकारी गराउनुपर्थ्यो", उनले भने, “खाना पाकिसकेपछि बन्द गर भन्नु गैर जिम्मेवार काम हो आजको खाना बाँड्न दिनुपर्छ।”