विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा “नेपाल साइकल उत्सव” आजदेखि शुरू
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साइकल यात्री पुष्कर शाहको नेतृत्वमा २१ दिने साइकल यात्रा आजदेखि शुरु भएको छ। कोरोना महामारीले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र नेपाल पर्यटन बोर्डको सन्देशलाई देशब्यापी रुपमा प्रवाह गर्न पश्चिम नेपालको महेन्द्रनगरदेखि शुरु भई पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा हुनेछ।
यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिइएको छ। यो यात्राले साइकलबाट पनि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने सन्देश जाने नेपाल साइकल उत्सवको नेतृत्व गरिरहेका विश्व साइकल यात्री पुष्कर शाहले बताए। यो यात्राको लागि १५ साइकलयात्रीहरु निस्केका छन्, भने विभिन्न जिल्लामा साइकलयात्रीहरु जोडिन सक्नेछन्। पुष्करले भने “रिले साइकल यात्रा हो। विभिन्न जिल्लाबाट कुनै निश्चित जिल्लासम्मको लागि मात्रै पनि जो कोही साइकल यात्रीहरु जोडिन सक्नुहुनेछ।”
यात्राको लागि शाहको टोली आज काठमन्डौबाट महेन्द्रनगर तर्फ प्रस्थान गरेको छ। साइकल यात्रामा निस्केका टोलीलाई नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मिले बोर्डको प्राङ्गणबाट बिदाई गरे।
यात्रामा निस्कँदै गर्दा शाहले भने “यो नेपाल साइकल उत्सवले साइकलबाट आन्तरिक पर्यटनमा निस्कन चाहनेलाई प्रेरणा दिने विश्वास छ।”
पश्चिमको महेन्द्रनगरबाट धनगढी, चिसापानी, विरेन्द्रनगर, नेपालगन्ज, अमेलिया, तुल्सीपुर, घोराही, स्वर्गद्वारी, भालुबाङ, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, नारायणघाट, हेटौंडा, सिन्धुलीगढी, जनकपुर, गाईघाट, धरान, ईटहरी, विराटनगर, दमक, विर्तामोड हुँदै काकडभिट्टासम्म पुगी आन्तरिक पर्यटन प्रबर्धनको लागी नेपाल पर्यटन बोर्डको सन्देश प्रवाह गर्नेछन्। करिब तीन हप्ताको साइकल यात्रा पश्चात यात्री समूह काठमाडौंँ फर्किने छ।