नेपालीले थेग्दैछन् पोखराको पर्यटन (तस्वीरहरु)
कोरोनाभाइरस महामारीका कारण विदेशी पर्यटक नआउँदा सुनसान बनेको पोखरामा अहिले स्वदेशी पर्यटकले व्यवसायीलाई आंशिक भरथेग गरिरहेका छन्।
पछिल्ला आठ महीना पोखराको लेकसाइड सुनसान बन्यो। तर, दशैँसँगै नेपालीको आगमन बढेको छ। लामो समयको बन्दाबन्दीमा घरैमा बसेकाहरु घुम्न निस्कन थालेका छन्।
काठमाडौँ, चितवन र देशका अन्य भागबाट पोखरा आएका पर्यटकले फेरि फेवा तालमा तैरिरहेका डुङ्गा भाडामा लिन थालेका छन्। विश्वका धेरै भाषाहरुको गुनगुन सुनिने लेकसाइडका बार र रेष्टुरेन्टमा नेपाली भाषीहरुको आवाज मात्र सुनिन्छ।
नेपाली पर्यटक पाराग्लाइडिङका लागि साराङकोट पुगिरहेका छन्। कतिपय जिप लाइनको मजा पनि लिइरहेका छन्। केही भने माछापुच्छ्रेमा बिहान टल्केको घाम हेर्न ट्रेकिङ गइरहेका छन्।
यो हप्ता काठमाडौँबाट पोखरा जाने सबै उडान यात्रुहरुले लगभग भरिए। उनीहरुलाई मास्क र फेस शिल्ड लगाउन तथा स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न भनिएको थियो। उनीहरुसँग पीसीआर रिपोर्ट भने मागिएको थिएन। बरु स्वास्थ्यसम्बन्धि जानकारीका लागि फाराम भराइएको थियो।