महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
१४औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना नेताहरूले १२ असोजमा पार्टी कार्यालयका मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध विरोध पत्र दर्ता गरेका थिए।
वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, शेखर कोइराला, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षरसहित विरोध पत्र दर्ता गरिएको थियो।
पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका थिए। उनीहरूले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्नुपर्ने माग गरेका थिए। त्यसपछि देउवाले १७ कात्तिकका (सोमबारका लागि) लागि पदाधिकारी बैठक आह्वान गरेका हुन्। १९ कात्तिकका लागि तय भएको कांग्रेस केन्द्रीय समिति बैठक भने २१ कात्तिकसम्मका लागि सरेको छ।
कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी ७ देखि १० फागुनमा गर्ने निधो गरेपनि महाधिवेशनन तालिकाअनुसार काम हुन सकेको छैन। कोरोनाभाइरस महमारीका कारण तालिकाअनुसार काम हुन नसकेको कांग्रेसले जनाएको छ। त्यस्तै, क्रियाशील सदस्या वितरणलगायतका विषयमा कांग्रेसभित्र विवाद छ।