कोरोना प्रभावः चीनसँग व्यापार ठप्प हुँदा लिमिबासीलाई खाद्य सङ्कटको चिन्ता
हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ। विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई खाद्य सङ्कट शुरु भएको छ।
यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको लिमीका गिरमेत तामाङले बताए। लिमीबासीलाई गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्छ। यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने तामाङ बताउँछन्।
विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गथ्र्यो। यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको उनी बताउँछन्। वर्षेनी चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भरमा छन्।
लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताइन्। उनका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो। “अब हिउँदको तीन महिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य सङ्कट निम्तिने छ”, उनले भनिन्।
लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख रामबहादुर विष्टले बताए। लिमीमा खाद्य सङ्कट भएको गुनासो आएपछि तत्कालका लागि ३०० क्विन्टल चामल लिमीवासीलाई वितरण गरेको र बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले जानकारी दिए।
जिल्ला खाद्य व्यवस्था समितिको बैठकले जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको छ। तर, माग गरेमध्ये अहिले २५ हजार ८०० क्विन्टल मात्र चामल स्वीकृत भएको छ।
सदरमुकामका लागि मात्रै १७ हजार क्विन्टल चामल माग हुँदा १० हजार क्विन्टल स्वीकृत भएको छ। चार हजार ५० क्विन्टल चामल हवाई मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार १०० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्ट बताउँछन्।
यस्तै सर्केगाड र अदानचुली डिपोका लागि दुई÷दुई हजार क्विन्टलका दरले स्वीकृत भएको छ। छप्रेला वितरण केन्द्रका लागि ५००, याङ्गचु एक हजार र यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि ८०० क्विन्टल चामल स्वीकृत भए पनि बाटो समस्याका कारण ढुवानी हुन सकेको छैन।
श्रीनगर डिपोमा १५० क्विन्टल र सर्केगाड डिपोमा १०० क्विन्टल चामल मौज्दात छ। ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा यो वर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको सङ्कट नहुने देखिएको छ।
स्थलमार्गबाट नेपालगञ्जबाट सिमकोट शाखाका लागि प्रतिक्विन्टल रु.५ हजार ९९०, सुर्खेतदेखि सिमकोटका लागि रु.५ हजार ४९०, धनगढीदेखि सिमकोटसम्म रु.६ हजार १००, नेपालगञ्जदेखि यान्चुसम्म रु.५ हजार, सुर्खेतदेखि यान्चुसम्म रु.४ हजार ८०० ढुवानी लाग्ने गरेको छ। यस्तै हवाई मार्गबाट नेपालगञ्ज–सिमकोटको प्रतिकेजी रु.११३ र सुर्खेत–सिमकोट ढुवानी गर्दा रु.१०८ पर्ने गरेको विष्ट बताउँछन्।