काेरोनामुक्त भएर मैदान फर्किएका रोनाल्डोको प्रदर्शनमा युभेन्टस विजयी
कोरोनाभाइरस संक्रमण भएर दुई साता मैदानबाहिर रहेका क्रिश्चियानो रोनाल्डोको पुनरागमन युभेन्टसका लागि सुखद भएको छ। इटालिएन सिरी ए अन्तर्गतको खेलमा रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्टसले रुकीज स्पेजियालाई ४–१ गोलले पराजित गरेको छ।
पहिलो हाफसम्म दुवै टीम १–१ को बराबरीमा थिए। १४औँ मिनेटमा युभेन्टसका लागि अल्भारो मोराटाले गोल गरेका थिए। तर, ३२औँ मिनेटमा टोम्मासो पोबेगाले स्पेजियाका लागि गोल फर्काएका थिए।
रोनाल्डो ५६औँ मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान छिरेका थिए। त्यसको तीन मिनेटपछि नै गोल गरेर रोनाल्डोले युभेन्टसलाई एक गोलले अगाडि बढाएका थिए। उनले अर्को गोल भने ७४औँ मिनेटमा पेनाल्टीबाट लगाएका थिए। त्यसअघि एड्रियन राबिओटले पनि युभेन्टसका लागि गाेल गरे।
राेनाल्डोलाई गएको १३ अक्टोबर कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको थियो। त्यस यता उनले युभेन्टसका चार खेल गुमाएका छन्। त्यसमध्ये एउटा गएको बुधबार भएको च्याम्पियन्स लिगमा बार्सिलोना विरुद्धको खेल पनि थियो।
उक्त खेलमा युभेन्टस पराजित भएपछि उनले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखेका थिए। उनलाई गएको शुक्रबार कोरोनामुक्त भएको रिपोर्ट आएपछि प्रशिक्षक आन्द्रे पिर्लोले उनलाई बेञ्चमै राखेका थिए। दोस्रो हाफमा मैदान छिरेका उनले पिर्लोलाई निराश बनाएनन्।