स्पेनका अन्येष्टि गृहका कर्मचारी हड्तालमा
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेसँगै थप कामदारको व्यवस्था गर्नुपर्ने माग गर्दै स्पेनका अन्त्येष्टि गृहका कर्मचारी हड्तालमा उत्रिएका छन्।
संघहरुका अनुसार कोरोनाको पहिलो लहर चलिरहँदा गत मार्चमा जसरी मृतकहरुको अत्येष्टि गर्न ढिला भयो, त्यसबाट पार पाउन अहिले धेरै कर्मचारी आवश्यक परेको हो। अहिले युरोपभरि कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको छ। युरोपका सबै देशमा संक्रमित र मृतकको संख्या बढेको छ।
आइतबार स्पेनका सबै अन्त्येष्टि गृहका कर्मचारीले हड्तालमा भाग लिए। मृतकका परिवारका सदस्य आफ्ना प्रियजन भेट्न चिहानमा आउने दिन नै कर्मचारीले हड्ताल गरेका हुन्।
मड्रिडको एउटा अन्त्येटि गृहका कर्मचारीले फ्रान्सको न्यूज एजेन्सी एएफपीलाई भनेका छन् कि शव व्यवस्थापनका लागि त्यहाँ १५ देखि २० थप कर्मचारी आवश्यक छ। गएको शुक्रबार कोरोना संक्रमित २३९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। स्पेनले दैनिक संक्रमित र मृतकको सूची सार्वजनिक गर्दैन।
गएको मार्चमा शव अन्त्येष्टिका लागि एक सातासम्म पर्खनु परेको थियो। कतिपय अन्त्येष्टि गृहमा लामो समय कुर्नु पर्दा आफन्तले सयौँ किलोमिटर टाढासम्म लगेर अन्त्येष्टि गरेका थिए।
स्पेनमा अहिलेसम्म १२ लाख ६४ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। तीमध्ये ३५ हजार ८७८ जनाको मृत्यु भएको छ। अहिले उपचाररत संक्रमितमध्ये दुई हजार ४८२ जना गम्भीर बिरामी छन्।
-बीबीसीबाट