नेकपा विवादलाई केन्द्रीय कमिटीमा लैजाने र ‘सरकारको छिनोफानो गर्ने’ दाहालको तयारी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आइतबार आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्यहरुलाई सुनाएअनुसार नेकपा गम्भीर मोडमा आइपुगेको छ।
सचिवालयका बहुमत सदस्यहरुको आफ्नै निवास खुमलटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय पनि नमान्ने र सँगै अघि बढ्न नसकिने भए अलग हुनसक्ने समेत प्रस्ताव गरेको सुनाएका थिए।
त्यो छलफलका क्रममा विभाजनको संघारमा पुगेर बल्लतल्ल जोगिएको पार्टीलाई पुनः विभाजनमा पुग्नबाट रोक्न तत्काल बैठक बोलाइनुपर्ने र पार्टीको बैठकबाट नै यसको निकास खोजिनुपर्ने निचोडसमेत नेताहरुले निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। तर, सचिवालय, स्थायी कमिटी वा केन्द्रिय कमिटीमध्ये कुन बैठक बोलाउने भन्ने उनले खुलाएनन्।
शनिबार अध्यक्षद्वय ओली र दाहालबीच भएको भेटमा दाहालले तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेको बताएका थिए। आइतबार सचिवालयका सदस्यहरुसँगको छलफलमा उनले प्रधानमन्त्री ओलीले बैठक पनि नबोलाउने र पार्टीले बहुमतबाट गरेका निर्णय पनि नमान्ने बताएको भन्दै पार्टीमा गम्भीर संकट पैदा भएको सुनाएका छन्।
त्यसो भए दाहालको अबको मूभ के होला ?
दाहालले आफूनिकट नेताहरुसँग यो विषयलाई सचिवालय वा स्थायी कमिटी नभई अब केन्द्रीय कमिटी बैठकमा लैजानेबारे छलफल शुरु गरेका छन्। केन्द्रिय कमिटी महाधिवेशनपछि नेकपाको सबभन्दा शक्तिशाली थलो र कार्यकारी कमिटी हो। दाहाल र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीमा आफ्नो भारी बहुमत रहेको बताउँदै आएको छ।
दाहालनिकट स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनालले केन्द्रीय कमिटी बैठक बोलाउने तयारीस्वरुप छलफल भइरहेको पुष्टि गर्दै नेकपाभित्रको विवादको छिनोफानो अब केन्द्रीय कमिटीले मात्र गर्न सक्ने बताए।
“स्थायी कमिटी वैठकपछि पार्टीभित्रको विवाद साम्य भयो भनिएको थियो, तर अहिले समस्या झन् बढेर गयो। पार्टी निर्णय र सरकारको निर्णयमा तालमेल मिलेन, बरु पार्टीमा थप संकट पैदा भएको छ,” खनाल भन्छन्, “मिलाउने भनिएको एक चरण सकियो, अब कमिटी प्रणालीमा जानुपर्छ। केन्द्रीय कमिटीले महाधिवेशनसम्म सरकारलाई नचलाऔं भने पनि ठिकै छ, बहुमतले सरकारबारे निर्णय गर्छ भने पनि ठिक छ। अब स्थायी कमिटीले गरेका निर्णय र कार्यदलले दिएको सुझावको कुनै अर्थ रहेन।”