नेकपामा फेरि संकट : सचिवालय सदस्यलाई दाहालको ब्रिफिङ- 'ओलीजीले निर्णय मान्दिनँ, अलग होऔं भन्नुभो'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा डेढ महीनाअघि साम्य भएको शक्ति संघर्ष पुनः शुरू भएको छ। विभाजनको संघारमा पुगेर जोगिएको नेकपामा यसपालि फेरि विभाजनकै अवस्था आएको जानकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेताहरूलाई गराएका छन्।
आइतबार दिउँसो खुमलटारस्थित निवासमा केन्द्रीय सचिवालयका सदस्यहरूलाई बोलाएर दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले 'आफूसँग सँगै बस्न नसकिने भए अलग होऔं' भन्ने प्रस्ताव गरेको बताएका हुन्।
"प्रधानमन्त्रीले अब सँगै जान सकिँदैन भने अलग–अलग बाटो जाऔं न त भन्ने प्रस्ताव गर्नुभयो", दाहालले सचिवालयका सदस्यहरुलाई सुनाएको उद्धृत गर्दै स्रोतले भन्यो।
आइतबार दिउँसो खुमलटारमा दाहालले सचिवालयका सदस्यहरू, नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई यो कुरा सुनाएका हुन्।
कर्णाली प्रदेशमा नेकपाभित्र उत्पन्न टकराव, पछिल्लोपटक भएको मन्त्रिपरिषद् पुनर्गठन र मुख्यसचिव तथा राजदूत लगायतका नियुक्तिलाई लिएर ओली र दाहालबीच मतभिन्नता बढेपछि झण्डै दुई सातासम्म चलेको ओली दाहाल संवादहीनता शनिबार तोडिएको थियो। शनिबार बालुवाटार पुगेका दाहालले त्यहीँ नै ओलीले आफूलाई यस्तो प्रस्ताव गरेको आइतबार सचिवालय सदस्यहरुलाई सुनाएका हुन्।
"म बैठक बोलाऔं भनेर आग्रह गर्न प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ, तर उहाँले बैठक अहिले गर्नु पर्दैन। तपाईंहरु सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठक गर्नुस्, तर बहुमतबाट भएको निर्णय म मान्दिनँ भन्नुभो। छुट्टै बैठक राख्नुभो भने म त्योभन्दा अप्रिय निर्णय गर्छु भन्नुभो", दाहाललाई उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले हिमालखबरसँग भने, "कुरा हुँदै जाँदा ओली कमरेडले अब सँगै जान सकिँदैन भन्ने लाग्छ भने अलग अलग पनि जान सकिन्छ भन्नुभो। यसले पार्टी एकतालाई गम्भीर मोडमा पुर्याएको छ।"
आइतबार बिहान पनि प्रधानमन्त्री ओलीसँग आफ्नो टेलिफोनमा कुराकानी भएको, त्यसक्रममा पनि ओलीले यही आशय व्यक्त गरेको दाहालले सचिवालय सदस्यहरुलाई सुनाएका छन्।
शनिबार बालुवाटारबाट फर्केपछि भने दाहालले भेटमा ठोस सहमति केही नभएको तर आफूले अहिलेका सबै विषयबारे छलफल गर्न तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेको जानकारी आफ्नो सचिवालयमार्फत सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीले गत असारमा आफ्नो सरकार ढाल्न सक्रिय रहेको भनेर सार्वजनिक रुपमै भारतमाथि दोषारोपण गरेका थिए र त्यसमा आफ्नै पार्टीका नेताहरूले समेत सघाएको आरोप लगाएका थिए। उनको यस्तो भनाइपछि नेकपामा बढेको संकट पार्टी विभाजनकै संघारमा पुगेका थियो। पछि ओली र दाहालले कार्यदलमार्फत् पार्टीभित्रका समस्या समाधान गर्ने सहमति गरेपछि भदौ अन्त्यमा आएर नेकपाको संकट टरेको थियो।
आइतबार सार्वजनिक भएका घटनाक्रमले नेकपा फेरि संकटमा परेको देखाउँछन्। पार्टीका बारेमा प्रायः निराशाका कुरा नगर्ने नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार दिउँसो नेकपामा गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरेका थिए। यसअघि नेकपामा संकट आउँदा मिलाउन सक्रिय रहँदै आएका उनले आइतबार ट्वीटमार्फत् भनेका थिए, "यतिबेला नेकपाको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूसमक्ष अनुरोध गर्दछु।"
खुमलटारमा आइतबार भएको सचिवालय सदस्यहरूको छलफलले पार्टीमा उत्पन्न संकट समाधानका लागि तत्काल बैठक माग गर्नुपर्ने निचोड निकालेको श्रेष्ठले बताए। "ख्यालख्यालमा पार्टी एकता भएको होइन, यो ख्यालख्यालमै फुट्न सक्दैन", उनले भने, "पार्टी एकतालाई हर हालतमा जोगाउन तत्काल बैठक आह्वान गर्नुपर्छ, पार्टीका बैठकबाटै यो समस्या समाधान गर्नुपर्छ भन्ने निचोड हामीले निकालेका छौं।"