चेन्नाईसँग हारेपछि आईपीएलबाट बाहिरियो पञ्जाब
लिग चरणको अन्तिम खेलमा अंकतालिकाको पुछारमा रहेको चेन्नाई सुपर किङ्ससँग पराजित भएपछि किङ्स इलेभन पञ्जाब इन्डियन प्रिमियर लिगको जारी संस्करणबाट बाहिरिएको छ। भर्खरै सकिएको खेलमा पञ्जाब नौ विकेटले पराजित भयो।
पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले मात्र एक विकेटको क्षतिमा १८.१ ओभरमा नै भेट्टाएको छ। चेन्नाईका लागि रुतुराज गाइकवाडले अविजित ६० रन बनाए। त्यस्तै फाप डु प्लेसीले ४८ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले ६ विकेट क्षतिमा १५३ रन बनाएको थियो। पञ्जाबका लागि दीपक होडाले छैटौँ नम्बरमा आएर ३० बलमा ६२ रन बनाए। त्यसबाहेक केएल राहुलले २९ र मायांक अग्रवालले २६ रन बनाए। पञ्जाबका लागि लुङ्गी एनगिदीले तीन विकेट लिए।
पञ्जाब यो खेलमा विजयी भएको भए १४ अंकसहित रनरेटका आधारमा दोस्रो स्थानमा पुग्ने थियो। हारपछि १२ अंकमै सीमित पञ्जाब पाचौँ स्थानमा यथावत् रहँदै बाहिरिएको छ। जितसँगै चेन्नाई भने कोलकातालाई पछि पारेर सातौँ स्थानमा उक्लिएको छ।
आजको दोस्रो खेलमा अहिले छैटौँ स्थानको राजस्थान रोयल्स र अन्तिम स्थानको कोलकाता नाइट राइडर्सबीच प्रतिश्पर्धा भइरहेको छ। दुवैको १२ अंक छ। यो खेलको विजेता टोली चौँथो स्थानमा पुग्नेछ। यदी सनराइजर्स हैदराबाद अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग पराजित भए अहिलेको विजेता टीम नै प्लेअफमा पुग्नेछ।