घुस लिएको अभियोगमा सशस्त्र प्रहरीका जवान पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो।
नेपाल प्रहरीका नायब निरीक्षक पनि पक्राउ
यस्तै आयोगले प्रहरीचौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रदान कानुले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग उनमा लागेको छ। आरोपी कानुनलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।
उनलाई दुई साता अगाडि खाद्यान्नसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ।
‘स्टिंग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिंग अपरेशनको सहजीकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताए।