दोलखाका स्थानीय तहले कोरोनाको निशुल्क परीक्षण र उपचारमा रु १० हजार सहयोग गर्ने
दोलखाका स्थानीय पालिकाहरूले कोरोना संक्रमितको जिल्लाभित्र हुने उपचार निशुल्क गर्ने र जिल्लाबाहिर उपचारको लागि लानुपर्ने भए १० हजार सहयोग गर्ने निर्णय गरेका छन्।
आइतबार जिल्लाका दुई नगरपालिका र सात गाँउपालिकाका प्रमुखसहितको उपस्थितिमा भएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको शङ्कासपद बिरामी, कन्ट्र्याक ट्रेसिङमा परेको व्यक्ति र कोरोना पोजिटिभ देखिएका बिरामीको दोस्रो परीक्षण सम्बन्धित पालिकाले निशुल्क गरिदिने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए।
त्यसरी कोरोना परीक्षणको लागि हरेक हप्ताको सोमवार, बुधवार र शनिबार धुलिखेल अस्पतालको दोलखा र किर्नेटारमा बिहान ६ बजेदेखि ९ बजेसम्म स्वाव दिन सकिने समन्वय प्रमुख पाण्डेले बताए।
त्यसैगरी कोरोना पोजिटिभ देखिएका बिरामीको जिल्लाभित्र हुने उपचारको सम्पूर्ण खर्च सम्बन्धित पालिकाले दिने र जिल्लाबाहिर काठमाडौँ तथा धुलिखेल जानुपर्ने भए सम्बन्धित पालिकाले नगद १० हजार सहयोग गर्ने निर्णय भएको छ।