कोरोना संक्रमितबाट उपचार धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन, शुल्क तोक्ने अस्पतालसँग स्पष्टिकरण सोधियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिने सरकारी अस्पतालसँग स्पष्टिकरण सोधेको छ। आइतबार मन्त्रालयका तर्फबाट आयोजित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कुनै पनि सरकारी अस्पतालले संक्रमितबाट उपचारका लागि धरौटी नलिन निर्देशन दिइएको र धरौटीका लागि सूचना सार्वजनिक गर्ने सबै अस्पतालसँग स्पष्टिकरण सोधिएको जानकारी दिए।
उनले सक्नेसँग शुल्क लिने र नसक्नेको निशुल्क उपचार गर्ने मन्त्रालयको पूर्ववत निर्णय यथावत रहेको बताए।
यसअघि विभिन्न सरकारी अस्पतालले सरकारको निर्णय बमोजिम भन्दै संक्रमितका लागि उपचार धरौटी शुल्क सूचना निकालेर सार्वजनिक गरेका थिए। धुलिखेल अस्पताल, सिभिल अस्पताल र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सूचना निकाली ५० हजारसम्म धरौटी लिइने बताएका थिए।