मध्य पहाडको नयाँ संरक्षित क्षेत्र बन्न सक्छ कर्णाली-महाकाली करिडोर
समथर भेगमा पाइने बाघसहितका वन्यजन्तुहरू देखिन थालेसँगै कर्णालीदेखि पश्चिम महाकाली नदीबीचको महाभारत क्षेत्र वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा नयाँ संरक्षित क्षेत्र बन्ने सम्भावना देखिएको छ।
नयाँ वर्ष २०७७ को पहिलो दिनको बिहानीमा संरक्षण क्षेत्रमा काम गर्ने र चासो राख्नेहरुका लागि आश्चर्यमिश्रित खुशी पार्ने समाचार थियो, डडेल्धुरा जिल्लाको २५०० मिटर उँचाइमा बाघ भेटिएको। किन पनि यो महत्वपूर्ण थियो भने, नेपालमा अहिलेसम्म त्यति उँचाइमा बाघ भेटिएको यो पहिलो घटना थियो।
तराई भू–परिधि (ताल) कार्यक्रमको प्राविधिक सहयोगमा जिल्ला वन कार्यालय डडेल्धुराले जिल्लाको महाभारत क्षेत्रमा वन्यजन्तुको रेकर्डका लागि राखिएको स्वचालित क्यामेराले बाघको तस्वीर कैद गरेको थियो। यो घटनापछि अहिले सुदूरपश्चिम प्रदेशमा महाकालीदेखि पूर्व र कर्णाली नदीदेखि पश्चिममा पर्ने महाभारत क्षेत्रलाई समेटेर नयाँ निकुञ्ज वा संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने बहस शुरु भएको छ।
जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराका प्रमुख गणेश भट्टका अनुसार, जिसस डडेल्धुरासहित जिल्लाका सबै पालिकाहरुले जिल्लाको महाभारत क्षेत्रमा पर्ने जंगललाई राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्र बनाउने विषय पालिका स्तरीय सभाबाट पारित गरेका छन्।
“बाघ भेटिएपछि हामीले यहाँको महाभारत जंगलको महत्व बुझ्ने अवसर पायौं”, भट्ट भन्छन् “संरक्षित क्षेत्र र निकुञ्ज बनाउने विषयमा सुदूरपश्चिम प्रदेशका सांसदहरुबीच छलफल चलाउँदैछौं।”
डडेल्धुराको महाभारत क्षेत्रमा ५३ हजार १४ हेक्टर वन छ। त्यस्तै, यो जिल्लासँग जोडिएको डोटीको महाभारत क्षेत्रमा करीब २३ हजार हेक्टर जंगल छ। यी दुई जिल्लाको महाभारत क्षेत्रलाई समेटेर संरक्षित क्षेत्र बनाउन सकिने डिभिजनल वन कार्यालय डडेल्धुराका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्य बताउँछन्।
जिल्ला वन कार्यालय डडेल्धुराका अनुसार, डडेल्धुराको महाभारत क्षेत्रमा ५३ हजार १४ हेक्टर वन छ। त्यस्तै, यो जिल्लासँग जोडिएको डोटीको महाभारत क्षेत्रमा करीब २३ हजार हेक्टर जंगल छ। यी दुई जिल्लाको महाभारत क्षेत्रलाई समेटेर संरक्षित क्षेत्र बनाउन सकिने डिभिजनल वन कार्यालय डडेल्धुराका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्य बताउँछन्।
आचार्यका अनुसार, डडेल्धुराको पश्चिम क्षेत्र महाकालीसँग र डोटीको महाभारत जंगल कर्णालीसँग जोडिन्छ। यो नै महाभारतमा पर्ने जंगलको मुख्य क्षेत्र हो। डडेल्धुरा र डोटीको क्षेत्रफलले ७०० वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्छ भने त्यसमा कोर एरियाभन्दा बाहिर रहेको जंगल र बस्ती समेतको ८०० वर्ग किलोमिटर भागलाई मध्यवर्ती क्षेत्रका रुपमा समेट्न सकिन्छ।
महाकालीदेखि कर्णालीसम्मको महाभारत र क्षेत्रमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधताको हिसाबले पनि मध्य पहाडमा महाकाली–कर्णाली नयाँ संरक्षित क्षेत्र बन्न सक्ने डिभिजन वन अधिकृत आचार्य बताउँछन्।
डिभिजनल वन कार्यालय डडेल्धुराले महाभारत क्षेत्रमा वन्यजन्तुको रेकर्डका लागि दुई पटकसम्म राखिएका क्यामेरामा उच्च हिमाली र तराईका समथर भू–भागमा पाइने वन्यजन्तु पनि भेटिएका छन्। यसले पनि उक्त क्षेत्रलाई संरक्षित क्षेत्र बनाउनुपर्ने मत बलियो बन्दै गएको छ। कार्यालयका अनुसार, तराईको समथर भू–भागमा पाइने बाघ, चितुवा, ठूलो जरायो, हिमाली क्षेत्रमा पाइने घोरल र रेड फक्स लगायत वन्यजन्तु रेकर्ड भएका छन्।
महाभारत क्षेत्रको भागेश्वर र घण्टेश्वर करिडोरमा फागुन–चैतमा ३२ वटा र दोस्रो पटक वैशाख–जेठमा ३० वटा स्वचालित क्यामेरा राखेर अध्ययन गरिएको थियो। सबैभन्दा रमाइलो के छ भने, पहिलो पटक राखिएका सबै क्यामेरामा चितुवा रेकर्ड भएका छन्। यसले पनि त्यस क्षेत्रमा प्रशस्त चितुवा रहेको देखाउँछ।
डिभिजन वन अधिकृत आचार्य नेपालमा अहिलेसम्म जैविक विविधताको अध्ययन कम उँचाइ वा उच्च हिमाली क्षेत्रमा केन्द्रित भएको भन्दै अब महाभारत र मध्य पहाडमा पनि केन्द्रित हुनुपर्ने बताउँछन्। उनी भन्छन्, “महाभारत जंगलमा तीन हजारदेखि पाँच हजार मिटरको उँचाइमा पाइने रेड फक्स र तराईको ५/६ सयको उँचाइमा पाइने ठूलो जरायो पनि रेकर्ड भएको छ। त्यसले पनि महाभारत क्षेत्र जैविक विविधताको केन्द्र बन्न सक्छ।”
संरक्षणका लागि नेपालमा प्रचलित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ वा वन ऐन २०७६ अन्तर्गत वन संरक्षण क्षेत्रमध्ये जुन उपयुक्त हुन्छ सोही अनुसार गर्न सकिने उनी बताउँछन्। आचार्य भन्छन्, “महाभारको जंगल जोगाउन आवश्यक छ, कुन मोडेलमा जाने भन्ने विषय राजनीतिक अजेण्डा भएकाले यसबारे प्रदेश वा केन्द्र सरकारले निर्णय गर्नुपर्छ।”
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल महाभारतको महाकाली–कर्णाली क्षेत्र जैविक विविधताका हिसाबले महत्वपूर्ण भएकाले त्यसको संरक्षणको मोडेलबारे अध्ययन भइरहेको बताउँछन्। “अहिले हामीले सबैतिरबाट तथ्यहरु संकलन गरिरहेका छौं, प्रदेशमा छलफल पनि चलेको छ”, दाहाल भन्छन् “प्रचलित ऐन कानून अनुसार सबैसँगको सल्लाहबाट संरक्षणको नयाँ मोडेल स्थापित गरिनेछ।”
यसरी भेटियो बाघ
सामान्यतया बाघ उष्णप्रदेशीय हावापानी भएको तराईका समथर भूभागमा मात्र पाइने आम मनोविज्ञान छ। बाघको शारीरिक बनावट ठूलो हुने भएकाले उकालो चढेर उँचाइसम्म जाँदैन भन्ने बुझाइ छ। यद्यपि भुटानमा ४ हजार र भारतमा ३६०० मिटरको उँचाइमा बाघ भेटिएको प्रमाण छ।
नेपालमा भने २५०० मिटरको उँचाइमा बाघ भेटिएको पहिलो पटक हो। त्यस क्रममा बाघ ट्यापिङका लागि शुरु भएको कथा रोचक छ।
विष्णुप्रसाद आचार्य डिभिजनल वन कार्यालय डडेल्धुराको डिभिजन वन अधिकृतको रुपमा सरुवा भएर गएको चार महीना मात्र भएको थियो। हाइकिङ गर्ने रुचि भएका उनी २०७६ पुसको एउटा शनिबार महाभारतको भागेश्वर क्षेत्रमा गए। उनीसँग एकजना स्थानीय पनि बाटो देखाउन गएका थिए।
भागेश्वर नजिक जाँदा आचार्यले एउटा घाँटी जस्तो ठाउँ देखे आचार्यले। उनले ‘यो त जनावर वारपार गर्ने ठाउँ जस्तो रहेछ’ भने। आचार्यसँगै गएका धामी थरका स्थानीयले फ्याट्ट भने, “यहाँ त बाघ पो पाइन्छ।”
बाघ रेकर्ड गर्ने निर्णय भएपछि २०७६ फागुनमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को सहयोगमा महाभारतमा २/२ मिटरको फरकमा क्यामेरा जडान भयो। जुन दिन क्यामेरा जडान गरियो, त्यसै दिन व्यापक हिमपात भयो। बाघ फेला पार्ने अध्ययन विफल हुने भयो भनेर डिभिजन वन अधिकृत आचार्यको मन खिस्रिक्क भयो।
आचार्यलाई विश्वास नै लागेन। पहाडमा चितुवालाई नै बाघ ठान्ने चलन भएकाले बाघ पाइन्छ भनेको होला भन्ने उनलाई लाग्यो। तर, ती स्थानीयले आफूले देखेको बाघबारे बेलिविस्तार सुनाए, “ठूलो थियो, पाटा थियो। गोरु पनि मारेको थियो।”
त्यसपछि आचार्यलाई बाघ रहे/नरहेकोबारे अध्ययन गर्नुपर्ने सोच आयो। उनले तराई भू-परिधि (ताल) कार्यक्रमका सुमन सुवेदी र गौतम पौडेललाई स्थानीयले बताएको कुरा सुनाएर अध्ययनको प्रस्ताव राखे। उनीहरूले बाघ भेटिने कुरा पत्याएनन्। तर, उनले यो कुरा भन्नुपर्ने ठाउँमा भन्न छाडेनन्।
माघमा तालको बैठक धनगढीमा आयोजना भयो। बैठकमा उनले जुनसुकै हालतमा डडेल्धुराको महाभारत जंगलमा बाघको अध्ययनका लागि क्यामेरा ट्यापिङ गर्न माग गरे। तर, बाघ पाइने कुरामा कतिपयले उनलाई जिस्काए।
अन्ततः त्यही बैठकले बाघ रेकर्ड गर्ने निर्णय गर्यो। फागुनमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को सहयोगमा महाभारतमा २/२ मिटरको फरकमा क्यामेरा जडान भयो। जुन दिन क्यामेरा जडान गरियो, त्यसै दिन व्यापक हिमपात भयो।
बाघ फेला पार्ने अध्ययन विफल हुने भयो भनेर आचार्यको मन खिस्रिक्क भयो। “बाघ भेटिन्छ भनेर धेरै गफ त लगाएँ, हिमपात भएर चिसो भएपछि बाघ त गयो, लौ खत्तम म भो भनेर डराइरहेको थिएँ”, उनले भने।
तर, २८ चैत २०७६ को साँझ तालमा कार्यरत करुण देवानले उनलाई भागेश्वरमा राखिएको स्वचालित क्यामेराले बाघ कैद गरेको खबर सुनाए। यो खबरले उनी रमाए।
तत्कालै डिभिजन वन अधिकृत आचार्यले वन सचिव विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक गोपाल भट्टराई, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका तत्कालीन प्रवक्ता सिन्धु ढुंगानालाई खबर सुनाए।
तर, बाघ भेटिएको खबर सार्वजनिक गर्दा बन्दाबन्दीको समयमा चोरी शिकार हुनसक्ने भन्दै तत्काल गोप्य नै राख्ने सहमति बन्यो। फेरि छलफल गर्दा सार्वजनिक गर्ने सहमतिपछि नयाँ वर्षको दिन डडेल्धुरामा बाघ भेटिएको खबर बाहिर ल्याइयो।
कहाँबाट आयो बाघ ?
डडेल्धुरामा बाघ कहाँबाट गयो, अहिलेसम्म अध्ययन हुन सकेको छैन। त्यही स्थानमा बसोबास गरिरहेको हो वा अन्यत्रबाट गएको आगन्तुक बाघ हो, त्यसबारे पहिचान नभएको डिभिजन वन अधिकृत आचार्य बताउँछन्।
सन् २०१७ मा डडेल्धुराको जोगबुढामा एउटा बाघ रेकर्ड भएको थियो। विज्ञहरुले गरेको अध्ययनमा त्यो बाघसँग भागेश्वरको उँचाइमा देखिएको बाघ मेल खाएन। त्यस्तै, सन् २०१८ मा शुक्लाफाँटामा गरिएको बाघको गणनामा ट्यापिङमा परेको बाघसँग पनि मिल्दोजुल्दो देखिएन।
गएको वैशाखमा डडेल्धुरामा बाघ भेटिएको तस्वीर सार्वजनिक भएसँगै उक्त क्षेत्रमा यसअघि पनि बाघ देखेको भन्ने मान्छे भेटिन थालेका छन्। स्थानीयको भनाइलाई आधार मान्ने हो भने डडेल्धुराको महाभारत जंगलमा धेरै अगाडिदेखि बाघ थियो।
डडेल्धुराको महाभारतमा देखिएको बाघबारे तीन/चार वटा अनुमान छन्। उक्त बाघ भारतको नन्दु नेशनल पार्कबाट आएको हुनसक्छ। शुक्लाफाँटामा सन् २०१८ को गणनामा ट्यापिङमा नपरेको बाघ पनि हुनसक्छ।
गएको वैशाखमा डडेल्धुरामा बाघ भेटिएको तस्वीर सार्वजनिक भएसँगै उक्त क्षेत्रमा यसअघि पनि बाघ देखेको भन्ने मान्छे भेटिन थालेका छन्। स्थानीयको भनाइलाई आधार मान्ने हो भने डडेल्धुराको महाभारत जंगलमा धेरै अगाडिदेखि बाघ थियो।
वनमा घाँस दाउरा गर्न जाने महिलाहरु आफूहरुले पहिले पनि बाघ देखेको दाबी गर्छन्। अमरगढी नगरपालिका–३ की राधादेवी कठायत (५३) आफूले २२ वर्षअघि जंगलमा घाँस लिन जाँदा बाघ देखेको बताउँछिन्। “जंगलमा गएको बेला लम्पसार परेर सुतेको थियो”, उनी भन्छिन् “रातो कालो पाटा भएको ठूलो बाघ थियो, चितुवा होइन।”
अमरगढी ३ गजुरलेककी कलावती कठायत (५४) पनि वनमा धेरै अगाडिदेखि बाघ देख्ने गरेको बताउँछिन्।
त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका पूर्व प्राध्यापक करनबहादुर शाह भने उच्च स्थानमा बाघ पाइनु नयाँ कुरा नभएको बताउँछन्। उनका अनुसार, विगतमा अहिले रेकर्ड भएभन्दा अझ उँचाइमा बाघ पाइएको थियो।
“७०/८० वर्षअघि अहिले भेटिएभन्दा पनि उच्च स्थानमा पर्याप्त मात्रामा पाटे बाघ पाइन्थे”, शाह भन्छन् “मैले गाउँहरू घुम्दा शिकारीबाट पाएको सूचनाका आधारमा नेपालमा ३५०० मिटर उँचाइमा पाटे बाघ रहेको कुरा दश वर्ष अघि नै एउटा पुस्तकमा लेखेको थिएँ।”
शिकार गर्ने क्रम बढेपछि र आहार प्रजाति नाशिंदै गएपछि पहाडमा बाघको संख्या घटेको उनी बताउँछन्।