शुक्रराज अस्पतालले कोरोना संक्रमितको उपचारमा शुल्क लिने, धरौटी ५० हजारसम्म तोक्यो
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार बापत रकम अशुल्नका लागि शुल्क तोकेको छ।अस्पतालले १३ कात्तिकमा सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको ३ कात्तिको पत्राचार अनुसार १४ कात्तिकदेखि लागु हुने गरी भर्ना भएर उपचार गर्ने कोरोना संक्रमितका लागि शुल्क तोकेको हो।
शुक्रराज अस्पतालले भेन्टिलेटरसहित आईसीयू राखेर उपचार गर्नुपर्ने बिरामीका लागि दैनिक रु १५ हजार र रु ५० हजार धरौटी तोकेको छ। त्यस्तै आईसीयूबाहेक भेन्टिलेटरमा मात्र राखेर उपचार गर्ने बिरामीका लागि अस्पतालले दैनिक शुल्क रु ७ हजार ५०० र धरौटी रकम रु ३० हजार तोकेको छ।
यस्तै, अस्पतालले क्याबिन आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने मध्यम जटिल खालका बिरामीका लागि दैनिक उपचार शुल्क रू ७ हजार ५०० र धरौटी रकम ३० हजार तोकेको छ। साथै ग्यास्ट्रो आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि दैनिक शुल्क रु ३ हजार ५०० र धरौटी रकम रु २० हजार तोकेको छ।
अस्पतालले विपन्न, जेष्ठ नागरिक, अति अपाङ्ग, अशक्त र एकल महिलाका लागि आवश्यक कागजात उपलब्ध गराएमा प्रमुख कन्सल्ट्यान्ट, वरिष्ठ कन्सल्ट्यान्ट र अस्पताल निर्देशकको लिखित निर्णयका आधारमा बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचार शुल्कमा १० देखि सत प्रतिशतसम्म छुट दिइने जनाएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार र पीसीआरमार्फत कोरोना परीक्षणमा शुल्क लिने निर्णय गरेसँगै अस्पतालले पनि शुल्क तोकेर सूचना नै निकाल्न थालेका छन्।
यसअघि काभ्रेको धुलीखेल अस्पताल र मिनभवनस्थित सिभिल अस्पताल लगायतले कोरोना संक्रमितको उपचार बापत रकम अशुल्ने सूचना जारी गरिसकेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले हिमालखबरसँग कुरा गर्दै आफूहरूसँग कुनै विकल्प नभएपछि बाध्य भएर कोरोना संक्रमितको उपचार बापतको शुल्क तोक्नु परेको बताए।
“हामीलाई पहिले स्वास्थ्य मन्त्रालयले उपचार तथा परीक्षण बापत खर्च दिन्थ्यो। तर अहिले खर्च दिन रोकेपछि हामीले अस्पताल त चलाउनु पर्यो। कर्मचारीलाई तलब खुवाउनुपर्यो”, डा. राजभण्डारीले भने, “औषधीदेखि एक्सरे मेसिन र किटसमेत खरिद गर्न खर्च लाग्छ। त्यहीँ खर्च जुटाउन बिरामीबाट उपचार र परीक्षण बापत शुल्क लिनु परेको हो।”
उनले उक्त सुचना जारी गर्नु मन्त्रालयका पदाधिकारीसँग सल्लाह लिने क्रममा तत्काल शुल्क लिने निर्णय कार्यान्वयन गर्न सल्लाह भएको पनि बताए।