आईपीएलमा बैङ्लोर र दिल्लीको लगातार तेस्रो हार, कसलाई पुग्ला फाइदा ?
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएका दुई खेलमा दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर र तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले हार व्यहोरेका छन्। अन्तिम चरणको एक खेल्नुअघि दुवै टीमको यो लगातार तेस्रो हार हो।
हिजो जित हासिल गरेका भए दुवै टीम एक खेलअघि नै प्लेअफमा पुग्ने थिए। यसअघि मुम्बई प्लेअफमा पुगिसकेको छ। अब अन्तिम चरणमा खेल बाँकी तीन स्थानका लागि ६ टीमले प्रतिश्पर्धा गर्नेछन्।
चेन्नाई सुपर किङ्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ। बैङ्लोर र दिल्लीको समान १४ अंक छ। सनराइजर्स हैदराबाद, किङ्स इलेभन पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ। कोलकाता रनरेटमा निकै पछाडि परेका कारण उसको संभावना गणितीय मात्र छ।
अब लिगको अन्तिम चरणको खेलमा बैङ्लोर र दिल्ली प्रतिशपर्धा गर्दैछन्। बैङ्लोरको रनरेट राम्रो भएको हुँदा हारले पनि प्लेअफमा पुग्ने संभावना कायम छ। तर, दिल्ली हारेको खण्डमा अन्य खेलमा उसको यात्रा भर पर्छ।
दिल्लीको भन्दा सनराइजर्स हैदराबाद र किङ्स इलेभन पञ्जाबको रनरेट राम्रो छ। अन्तिम चरणमा पञ्जाबले चेन्नाईसँग र हैदराबादले मुम्बईसँग खेल्दैछन्। दुवैले जितेर दिल्लीले बैङ्लोरसँग हार्दा यसपटक पनि दिल्लीको यात्रा टुङ्गिनेछ। दिल्ली अहिलेसम्म आईपीएलको फाइनलमा पुग्न सकेको छैन।
अन्तिम चरणको खेलमा बैङ्लोर र दिल्लीमध्ये जुन टीम विजयी हुन्छ त्यसले दोस्रो स्थान कब्जा गर्नेछ। तर, लिग चरणको उक्त अन्तिम खेलमा दिल्ली हारेको खण्डमा भने प्लेअफकै समीकरण प्रभावित हुने संभावना छ। उसको हारले हैदराबाद र पञ्जाबलाई फाइदा पुगेको छ।
हिजोको खेलमा बैङ्लोर हैदराबादसँग पाँच विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले गतिलो योगफल तयार गर्नै सकेन। उसले २० ओभरमा पाँच विकेट क्षतिमा १२० रन बनायो।
बैङ्लोरको इनिङमा जोस फिलिपले सर्वाधिक ३२ रन बनाए। कप्तान विरोट कोहोली ७ रनमा बाहिरिए। हैदराबादका लागि सन्दीप शर्मा र ज्यासन होल्डरले समान दुई/दुई विकेट लिए।
१२१ रनको लक्ष्य पछ्याएको हैदराबादले १४.१ ओभरमा नै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। उसका लागि ऋद्धिमान साहले ३९ रन बनाए।
अर्को खेलमा दिल्ली मुम्बईसँग नौ विकेटले पराजित भएको छ। टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले नौ विकेट क्षतिमा ११० रन मात्र बनाउन सक्यो। उसका लागि श्रेयस ऐयरले सर्वाधिक २५ रन बनाए। मुम्बईका लागि ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले तीन/तीन विकेट लिए।
मुम्बईले १४.२ ओभरमा नै लक्ष्य भेट्टाएको छ। उसका लागि इशान किशानले सर्वाधिक ७२ रन बनाए।