अर्थमन्त्री भन्छन्- 'कोरोनाका कारण अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउनु चुनौतीपूर्ण'
अर्थमन्त्री विष्णु पौडेलले कोभिड महामारीका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताएका छन्।
शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरूसँग सिंहदरबारमा अर्थमन्त्री पौडेलले कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए। कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण भएपनि आफुले अधिकतम प्रयास गर्ने उनको भनाइ थियो। स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ अर्थमन्त्री पौडेलले जोड दिए।
मानिसको जीवन र जिविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमाभित्र रहेर चुनौतिहरुलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पारे।
त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडि बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको उनले बताए।