कोरोना संक्रमणबाट मृत्यु भएकाको कब्रिस्तानमै अन्तिम संस्कार गर्न अनुमति
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रिस्तानमा नै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको हो।
प्रशासनमा भएको छलफलमा सहमति भएपछि दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गरिएको छ। प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरूले मुस्लिम समुदायलाई शव व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने र अहिलेको स्थानमा शव व्यवस्थापन गर्न नदिने बताएपछि आफूहरूले दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गर्न अनुमति दिएको आन्दोलन संघर्ष समितिका संयोजक धन बहादुर कोलीले बताए।
यसअघि बिहीबार कोरोना सङ्क्रमित एक महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रिस्तानमा गाडेको थियो।
त्यसपछि कोरोना संक्रमतिको शव मानवबस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका थिए। कोरोना संक्रमित महिलाको शवलाई बस्ती बीचको कब्रिस्तानमा गाडेपछि स्थानियहरूले कब्रिस्तान बन्दको माग गर्दै गेट बाहिर तालाबन्दी गरेका थिए।