संक्रमित भएर आइसोलेसन सेन्टर पुगिन्, सेन्टरमै योग सिकाएर उर्जा भरिदिइन्
कोरोना संक्रमण भएपछि तनाव लिएर एक्लै बस्दा झन् मानसिक र शारीरिक समस्या हुन्छ भनेर आफू बसेको आइसोलेसन सेन्टरमै मनिषा श्रेष्ठले योग सिकाइन्। १४ दिनपछि घर फर्केकी उनलाई सेन्टरले फेरि योग सिकाउन आइदिन अनुरोध गरेको छ।
मेरुदण्ड सीधा हुने गरी बस्नु होला
अब बटरफ्लाइ गरौं,
खुट्टाको पैताला जोडेर बस्ने,
चरा उडेको बेला पखेटा हल्लाए जस्तै हात हल्लाउने
दंग परेर हाँस्दिनुहोला
हा हा हा हा गर्दै खुशीका साथ हाँस्नुस्, मुख आँ गरेर
अझ मुख आँ आँ गर्दै........!
यसो भन्नु काठमाडौंकी मनिषा श्रेष्ठको आइसोलेसन बस्दाको दैनिकी हो। पेशाले योग प्रशिक्षक हुन् उनी। २५ असोजमा दम्पतिलाई नै कोरोना संक्रमण भएपछि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रको आइसोलेसन सेन्टरमा गए। होटेलमा बस्ने सोचेकी उनलाई एकजना साथीले भनेपछि दुवै जना त्यहाँ गए। शुरूमा १०० जनाभन्दा बढी मान्छे देखेपछि व्यवस्थापन राम्रो नहोला भनेर मनिषाले होटेल खोज्ने सोंच बनाइन्। तर, एकरातको बसाइ, त्यहाँको खुला र फराकिलो ठाउँका कारण होटेल जाने सोंच त्यागिन्। दुवै जना त्यहीँ आइसोलेसनमै १४ दिन बिताउने निर्णयमा पुगे।
मनिषा भन्छिन्, “होटेलमा एउटा कोठामा कोचिनुभन्दा फराकिलो र खुला ठाउँ पनि रहेछ, व्यवस्थापन र सरसफाइ पनि गुनासो गर्ने खालको नभएको अरुबाट पनि बुझेपछि त्यहीँ बस्यौं।”
आइसोलेसन सेन्टर गएपछिका तीन दिन श्रीमानलाई हल्का ज्वरो आयो, विस्तारै अक्सिजन कम हुँदै गयो। सेन्टरका स्वास्थ्यकर्मी र चिनेका डाक्टरहरूसँग सल्लाह गर्दा अस्पताल लैजान सुझाए। तर, श्रीमान् मानेनन्।
“एउटा, अस्पतालमा बेड नपाउने समस्या र अर्को हेरविचार गर्ने आफन्त कोही हुँदैन भनेर उहाँ अस्पताल जान मान्नुभएन”, मनिषा भन्छिन्, “त्यसपछि विस्तारै योग अभ्यास गराउन थालेँ। तीन दिनपछि अक्सिजनको मात्रा पनि सामान्य भयो र ज्वरो पनि हट्यो।”
सँधै योग गर्ने उनले श्रीमानलाई पनि योग गराइन्, छतमा दुई जना मात्रै बिहानको ब्रेकफास्टपछि योग गर्थे।
विस्तारै अन्यले पनि चासो राख्न थाले। र, अरुका लागि पनि योग फाइदा हुन्छ भनेर उनले इच्छा भए आफूले गराउने भनिन्। विस्तारै उनीसँग योग गर्न चाहनेहरू बढ्दै गए। तर, १४ दिन पुगेपछि जाने र नयाँ आउनेहरू थपिने क्रम पनि भयो। त्यसलाई मिलाएर उनले योग अभ्यासलाई निरन्तरता दिइन्।
करीब १८ वर्षदेखि योग प्रशिक्षण दिँदै आएकी मनिषा भन्छिन्, “योग गराउँछु नै भनेर पहिला त सोचेको होइन तर, हामी दुईजनाले गरेको देखेर केहीले चासो देखाउन थालेपछि मैले नै आग्रह गरेँ। ११ दिन समूहमा सिकाएँ, कहिलेकाहीँ ५०-५५ जनासम्म पनि भए।” आउने जाने भइरहने भएकाले नयाँ आउनेलाई छुट्टै पनि सिकाउँथिन्। १४ दिन लामो होला भन्ने सोचेकी उनलाई दिन कटाउन पनि गाह्रो भएन।
कोभिड संक्रमितले गर्ने अभ्यास
धेरै योग अभ्यास समूहमा गराए पनि कसैलाई उसको स्वास्थ्य अवस्था अनुसार मनिषाले छुट्टै पनि सिकाइन्। घाँटी खसखस गर्ने वा घाँटी बन्द भए जस्तो हुनेलाई मुख खोलेर हाँस्ने, गीत गाउने आदि गराइन्। टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेलाई पनि यस्ता समस्या कम हुने खालका अभ्यासहरू गराइन्।
उनको सुझाव छ, “योगले सबैलाई फाइदा छ, अझ कोरोना संक्रमितहरूको शारीरिक र मानसिक स्वास्थ्यको लागि योग महत्वपूर्ण हुन्छ।”
घाँटी खसखस हुने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने तथा अक्सिजन कम हुने जस्ता कोभिडको सामान्यतया धेरैमा देखिने समस्या हो। त्यसैले ठूलो स्वर निकालेर घाँटी खुला हुने जसरी हाँस्ने, भमरा जस्तै भुनभुनाउने, भजन तथा गीत गाउँदा घाँटी सफा हुन्छ भने नाकले लामो सास लिँदै एकछिन रोक्ने र विस्तारै छोड्ने गर्दा श्वासप्रश्वासको लागि राम्रो हुने उनको सुझाव छ। उनका अनुसार बिहान ब्रेकफास्ट खाएर गर्ने योगमा पेटलाई असर नपर्ने गरी अरु अंगहरूको अभ्यास गर्नुपर्छ।
कहिल्यै पनि योग नगर्नेहरूलाई एकैपटक लामो समय एकै ठाउँमा बस्न वा अभ्यास गर्न गाह्रो पनि हुनसक्छ। त्यसैले शुरूशुरूमा ५ मिनेट जति पलेँटी कसेर आँखा बन्द गरेर बस्दै विस्तारै समय बढाउँदै लगेर ७, १०, १५ मिनेट गर्नुपर्छ, सक्नेले त्यो भन्दा धेरै पनि गर्न सकिन्छ। विस्तारै १५ देखि २० मिनेट शरीरलाई तन्काउने आसनहरू गराइन्। त्यसपछि बसेर ॐ गर्ने, गायत्री मन्त्र र प्राणायम दैनिक गराउन थालिन्।
“संक्रमितलाई रोग लागेर मात्रै भन्दा पनि एक्लो भएर बस्नुपर्दा तनावले झन् स्वास्थ्यमा समस्या बढ्दै जान सक्ने भएकाले मोटिभेसनल स्पीचहरू पनि दिएँ। जसले गर्दा मनमा भएका तनाव र कोभिडका कारण डराएको मन शान्त हुने र आत्मविश्वास भएको प्रतिक्रिया सबैले दिए”, मनिषाले अनुभव सुनाइन्।
योग गर्नेहरूको सकारात्मक प्रतिक्रिया
आफू घर फर्किने दिन (चौधौं दिन) योगलाई निरन्तरता दिन आग्रह गर्दै योगको फाइदाबारे बताएको मनिषाले बताइन्। केहीसँग पहिलो पटक योग गर्दाको अनुभव सोधिन् र भिडिओमा कैद गरिन्। जोसँग कुरा गरिन्, उत्साहित भइन्, सबैले योगले आफूलाई फाइदा पुगेको बताए। उनीसँगै योग गरेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक गान्धी श्रेष्ठले टाउको दुख्ने समस्या र पहिलेदेखि भएको उच्च रक्तचाप सामान्य हुँदै गएको प्रतिक्रिया दिए।
संक्रमण भएपछि खाना नरुच्ने र श्वासप्रश्वासमा पनि समस्या भएकी मैतीदेवीकी सरिता चित्रकारलाई पनि योग अभ्यास गर्न थालेपछि खाना रुच्न थालेको र श्वासप्रश्वासको गडबडी पनि सामान्य भएको बताइन्।
आइसोलेसन सेन्टर व्यवस्थापनले पनि मनिषाको कार्यलाई सकारात्मक रूपमा लिएको छ। जसजसले योग गरे सबै सामान्य रूपमा स्वस्थ भएर फर्किए, त्यसैले योगलाई निरन्तरता दिनेगरी मनिषालाई आइसोलेसन सेन्टरले बोलाएको छ।
“मलाई बोलाउनु भएको छ, फेरि संक्रमणको जोखिम नहुने हो भने म आउँछु भनेको छु”, मनिषाले भनिन्। हरेक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बस्नेहरूले पनि योग गर्नु एकदमै राम्रो हुने उनको सुझाव छ।