बालुवाटार पुगेर दाहालले ओलीलाई भने- ‘तत्काल सचिवालय बैठक बोलाऔं’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सचिवालय बैठक तत्काल बोलाउन अर्का अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन्।
११ दिन लामो संवादहीनता तोड्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दाहालले पार्टीभित्र देखिएका समस्या समाधानका लागि सचिवालय बैठक तत्काल बस्नुपर्ने माग गरेका हुन्।
दाहालनिकट स्रोतका अनुसार पार्टीको कर्णाली प्रदेशमा देखिएको समस्या, भारतीय खुफिया संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट, कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको काम, कारबाही र पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्या लगायतका विषयमा दाहालले ओलीसँग चासो राखेका छन्।
“यी विभिन्न समसामयिक विषयमा दुई अध्यक्षबीच छलफल भएको छ। सबै समस्या समाधानका लागि तत्काल केन्द्रीय सचिवाय बैठक बोलाउन अध्यक्ष ‘प्रचण्ड’ले माग गर्नुभएको छ”, दाहालनिकट स्रोतले भन्यो।
सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सकारात्मक रहेपनि कहिले बोलाउने भन्नेमा ठोस सहमति भइसकेको छैन। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि नै दुवै अध्यक्षलाई लिखित पत्र बुझाउँदै सचिवालय बैठक बोलाउन माग गरिसकेका छन्।
२० असोजयता नेकपाको सचिवालय बैठक बसेको छैन भने ४ कात्तिकयता दुई अध्यक्षबीच संवाद समेत हुन सकेको थिएन।