कोरोना महामारी र बाढी पहिरोको कारण बन्द रहेको तातोपानी नाका सञ्चालन
पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने गरी सुचारु भएको छ। कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द भएको नाका बिहीबारबाट खुलेपछि नेपालतर्फ सामान आयात हुन थालेको छ।
२०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो। बीचमा खुलेको नाका पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो। तर अहिले भने कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ ब्यापारीले अलपत्र परेको नेपाली ब्यवसायीका सामान नेपाल पठाउन थालेका हुन्।
अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुर्याउन आउने गरेको छ। तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताए। श्रमीकहरूलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताए।
अहिले मितेरी पुल वारिसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन्। चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ। लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगाएतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए। आफुहरूले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरूले बताएका छन्। अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरूको माग छ।
नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरूको भनाइ छ। सामान लोड गर्ने नेपाली श्रमीकलाई क्वारेन्टिनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।
नेपालतर्फका सवारी साधनहरू सामान लिन जानको लागि अनिवार्य निर्मलिकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। नाका खुलेसँगै दैनिक चारदेखि छ वटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले बताएको छ।