सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड १९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिशस् सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं ।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ ।
१. व्यवस्थित सहरका लागि आफैँले घर बनाउन रोक्नुपर्छ
अहिले सहरहरुले भोगिरहेको समस्या धूवाँ, धूलो, प्रदूषण, प्राकृतिक विपत्ति, महामारीसहितका हुन्। यस्ता समस्या काठमाडौं र भक्तपुरका सहरमा देखिएका छन्। सहर डुबानमा पर्नु, बाढी पस्नु, प्राकृतिक विपत्तिको जोखिम बढ्नु अव्यवस्थित सरहकै कारण हो। विश्व शहरीकरण दिवसको विशेष नेपाल सरकारका पूर्वसचिव किशोर थापाको आलेख।
२. ला बास्साबाट गोर्खाली बह
गोर्खा सेना ब्रिटिश सेनामा भर्ती भएर पहिलो पटक युद्धका लागि समुद्र पार गरेर प्रथम विश्वयुद्ध लड्न बिल्कुल नयाँ भूभाग युरोप पुगेका थिए। जहाँ भाषा, रहनसहन, खानेकुरा, मौसम केही मिल्दैनथ्यो। कतिपय इतिहासकारहरूले त उनीहरू दौरा–सुरुवाल माथि सैनिक ड्रेस लगाएर लड्न गएको पनि उल्लेख गरेका छन्। तिनै गोरखा सैनिकको इतिहासमाथि श्रीभक्त खनालको आलेख।
३. गुटबन्दीले क्षतविक्षत प्रदेश २ को नेकपा : यसकारण निम्तियो पर्सा घटना
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गएको ६ कात्तिकमा पर्साको विन्दवासिनी गाउँपालिकामा आयोजना गरेको गाउँपालिका कमिटीको शपथ कार्यक्रम रणभूमि बन्न पुग्यो। नेकपाका दुई समूहबीच लाठी र भाटासहित भएको त्यो झडपमा गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भयो। यस्तै घटना एक वर्षअघि महोत्तरीको बर्दिवासमा पनि भएको थियो। नेकपाको सिरहा र सप्तरी जिल्ला कमिटिको संयुक्त सपथ कार्यक्रममा नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहमाथि हातपात भएको थियो भने सपथ कार्यक्रम नै विथोलिएको थियो। मुकेश पोखरेलको रिपोर्ट।
४. दशैंमा काठमाडौं छोडेर गएकाहरू पुगेका यी ठाउँमा छ कोरोना संक्रमणको अति उच्च जोखिम
कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाली टेलिकम र एनसेलसँगको सहकार्यमा दशैं शुरू हुनुभन्दा दुई हप्ताअघिसम्म काठमाडौं उपत्यका छोडेर विभिन्न जिल्लामा गएका कम्तिमा एक लाख मानिसको आवतजावतका बारेमा तथ्यांक विश्लेषण गरेको थियो। काठमाडौं उपत्यका छोडेकाहरूमध्ये कम्तिमा एक लाख मानिसको आवतजावतमाथि गरिएको एक दूरसञ्चारको तथ्यांक विश्लेषणले दशैंपछि गाउँ कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ। रामु सापकोटाको रिपोर्ट।
५. प्रहरी नेतृत्वले ‘सिध्याएका’ चार होनहार अफिसर
पछिल्लो समय नेपाल प्रहरीको अपराध अनुसन्धान क्षमता भुत्ते बनेको चर्चा जनमानसमा मात्र होइन, प्रहरी नै पनि गर्छन्। सर्वेन्द्र खनाल आईजीपी हुँदा अनुसन्धानमा अब्बल चार जना प्रहरी अधिकृतले भोगेको भुक्तमानसँग धेरै हदसम्म सही रहेको यो चर्चाको सीधा साइनो छ। नेतृत्व नै नेतृत्व जस्तो भइदिएन भने प्रहरी संगठनको साख जोगाउन दिनरात खटिएका अफिसरले कतिसम्म भुक्तमान व्यहोर्नुपर्छ र त्यसबाट संगठनमा कति ठूलो धक्का लाग्छ भन्ने दृष्टान्त हो, रामेश्वर बोहराले तयार पारेको चार जना प्रहरी अधिकृतको कथा।
६. दुरा– जसले शाहलाई राजा बनाए
प्रतिशोध र इख भएको व्यक्तिले आफूसँग वैरभाव साध्नेलाई कि सिध्याउँछ कि ऊभन्दा अब्बल बनेर देखाउने आकांक्षा पाल्छ । यस्तै तात्तातो प्रतिशोधी भाव र इख तत्कालीन गोरखाली युवराज पृथ्वीनारायण शाहमा थियो। पृथ्वीनारायण शाहका पुर्खा यशोब्रह्म शाह (कुलमण्डन शाहका छोरा, द्रव्य शाहका बुबा) लाई लमजुङको राजा बनाउने दुरा जाति स्वयं भने अहिले लोपोन्मुख बनेको छ। दुराहरूको इतिहासमाथि राजकुमार दिक्पालको टिप्पणी।
७. आम्दानी घटेपछि खर्च घटाउनु साटो ह्वारह्वार्ती ऋण लिंदै सरकार
खर्च बढे अनुसार राजस्व आम्दानी नभएपछि सरकारले अहिले चालु, अनावश्यक र फजुल खर्च कटौतीमा भन्दा ऋण लिने सजिलो बाटो समातेको छ। खर्च नघटाउने तर ह्वारह्वार्ती ऋण लिएर खर्च गर्ने प्रवृत्तिले थेग्नै नसकिने दुष्परिणाम निम्त्याउने जोखिम छ। हिमालखबर को विश्लेषणात्मक सामग्री।
८. के हुन् उपयोगी मिडिया ? कस्ता हुन्छन् सक्रिय उपभोक्ता ?
पहिलेका उपभोक्तालाई सूचना र मनोरञ्जन दिए पुग्थ्यो भने अहिलेका उपभोक्तालाई त्यतिले पुग्दैन। उनीहरुको आधारभूत आवश्यकता के हो र कस्ता सामग्रीले उपभोक्ता सक्रिय हुन्छन् भन्ने बुझ्न जरुरी छ। अधिकांश स्थापित मिडियाले समेट्न नसकेको बालबालिका, युवा र महिलाहरुलाई सक्रिय उपभोक्ता बनाउन जरुरी छ। बालबालिका, युवा र महिला परिवर्तनका संवाहक हुन् । समाजलाई परिवर्तनको संघारमा पुर्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुन्छ। मधु राईको टिप्पणी।
९. दशैंमा बढ्दैछ 'दम्पती टीका' को अभ्यास, श्रीमान्-श्रीमतीबीच नै एक-आपसमा टीका
बडादशैंमा मान्यजनको हातबाट सानाले टीका थाप्ने प्रचलन छ। पारिवारिक रुपमा श्रीमान्ले श्रीमतीलाई टीका लगाइदिने परम्परा रहिआएको छ। तर, केही वर्षयता भने श्रीमतीले पनि श्रीमान्लाई टीका लगाउने अभ्यास हुन थालेको छ। मान्यजनको हातबाट टीका थाप्ने प्रचलन रहेको दशैंमा पारिवारिक रुपमा श्रीमान्ले श्रीमतीलाई टीका लगाउने परम्परा छ। तर, पछिल्ला वर्षहरुमा कतिपय दम्पतीले एक-अर्कालाई टीका लगाइदिने अभ्यास शुरु गर्दै जीवनसाथी बराबरी हुन् भन्ने सन्देश पनि दिइरहेका छन्। लक्ष्मी बस्नेतको रिपोर्ट।
१०. किन खुल्दैन माइक्रो ब्रुअरी सञ्चालन गर्ने ढोका ?
मापदण्ड पुगेका रेष्टुरेन्टहरुले आफ्नो लागि आफै वियर उत्पादन गर्ने ‘माइक्रो ब्रुअरी’को अभ्यास धेरैतिर सफल छ। पैसा विदेशिनबाट रोक्ने र पारखीले पक्का स्वाद पाउने लाभसहितको यो अभ्यास नेपालमा भने सरकारी निकाय र ठूला वियर उत्पादकको अवरोधका कारण शुरु हुनै सकेको छैन। एउटा सामग्री।
११. दुई प्रहरीको हत्यासँग जोडिएको केराउको कथा
कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद १ असारमा तस्करको आक्रमणमा मारिए। कैलालीमा भएको दुई जना प्रहरीको हत्याले देखाउँछ, तेस्रो मुलुकबाट नेपाल हुँदै भारततर्फ भइरहेको केराउको तस्करीले सीमाक्षेत्रमा गम्भीर अपराध समेत निम्त्याउन थालिसकेको छ। मुकेश पोखरेलको रिपोर्ट।
१२. एक तस्वीर, तीन काल
यो तस्वीरले युवा नेतृत्वप्रति ध्यान आकृष्ट गर्दछ, जुन वर्तमान राजनीतिमा खडेरी नै परेको छ। नेपालका अधिकांश राजनीतिक दलले युवा नेतृत्वलाई बेवास्ता मात्र होइन निरुत्साह नै गरेका छन्। हाम्रो मुलुकका युवा, ज्येष्ठ नागरिक बनिसकेका नेताहरूको निर्देशन मान्न, सहन र ट्वाल्ल परेर हेर्न बाध्य छ। तर ७० वर्षअघि खिचिएको यो तस्वीरले यस्तो कथा भन्छ जसले नेपाली राजनीतिका भूत, वर्तमान र भविष्य तिनै काललाई व्याख्या गर्ने क्षमता राख्दछ। भूमि घिमिरेको ब्लग।
१३. कोरोना परीक्षणमा यसरी हुँदैछ व्यापार
कोरोनाभाइरस परीक्षण गर्न ११ माघ २०७६ सम्म देशमा एउटा पनि प्रयोगशाला थिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले मुलुकभरिका निजी र सरकारी ६३ वटा प्रयोगशालालाई अनुमति दिएको छ। परीक्षणका लागि पोलिमरेज चेन रियाक्सन (पीसीआर) मेसिन प्रयोग गरिन्छ। पहिले कोरोना परीक्षण गर्ने प्रयोगशालाका सामग्री आयात गर्ने सप्लायर्सहरुले अहिले प्रयोगशाला नै स्थापना गरिदिने एजेन्ट बनेका छन्। यसको प्रमुख कारण हो, कोरोना परीक्षणका नाममा मौलाइरहेको व्यापार। रामु सापकोटाको रिपोर्ट।
१४. कोरोनाले सिकाएको बाँच्ने तरिका: हामीले के गर्ने ?
समयका बारेमा यौटा प्रख्यात भनाइ छ– सुख होओस् वा दुःख, समयको सबैभन्दा ठूलो गुण भनेकै यो बितेर जान्छ। त्यसैले, अहिलेको महामारीले सिर्जना गरेको भयानक संकट पनि कुनै न कुनै दिन बितेर जानेछ। आखिर, संकट, विपद् र भयसँग जुधेरै मानव सन्तान–दरसन्तानको जीवन अघि बढ्दै आएको हो। रमेश कुमारको आलेख।
साथमा यस विषयषमा हिमालखबर विशेष सामग्रीहरू: