‘आलु आन्दोलन’ ताकाको त्यो भीमफेदी–कुलेखानी
२००९ सालमा मकवानपुरको भीमफेदीबाट आलु निकासी गर्दा सरकारले दुई ठाउँमा भन्सार महशुल लिएको विरुद्ध जागेको आन्दोलन चर्काउन हामी विद्यार्थी नेताका रूपमा पुगेका थियौं।
सरकार बडो अनौठो चिज रहेछ। कतै ठाउँ देख्यो कि, आम्दानीको लागि हात बढाइहाल्ने। भन्सार महशुल, कर असुलीका हिसाबले सरकार भन्दा ठूलो नाफाखोर अरु कोही नहोला पनि।
कुरो हो, २००९ सालको। मकवानपुर जिल्लामा त्यतिबेलै पनि आलु खेती बाक्लै गर्न थालिसकिएको रहेछ। त्यताका आलु मधेशमा राम्रो भाउमा किनबेच हुने रहेछ। मकवानपुरे आलुले राम्रो मूल्य पाएपछि आलु खेतीको क्षेत्रफल ह्वात्तै बढेछ।
अब सरकारका आँखा आलुमा पर्न लाग्यो। सरकारले चिसापानी गढी र धुर्सिङ गरी दुई ठाउँमा भन्सार महशुल असुल गर्न थालेछ। उही आलुमा दुई ठाउँमा भन्सार तिर्नुपर्दा आलु उत्पादक किसान मर्कामा पर्न लागे। तब भीमफेदी बजारका व्यापारीले आलुमा दुईतिर भन्सार महशुल विरुद्ध आन्दोलन शुरु गरेछन्।
आन्दोलनमा उत्रिनेमाथि व्यापक धरपकड भएछ। भीमफेदीका अधिकांश व्यापारी थुनिएछन्।
भीमफेदीको विकल्पहीन बाटो
उतिबेला कुलेखानी जलाशययुक्त जलविद्युत् परियोजना बनेको थिएन। खोला थियो, कुलेखानी। खोला किनारमा भात होटलहरू थिए। होटलमा त्यही खोलाका माछाका परिकार हुन्थे। तारेको, भुटुवा, झोल हालेको आदि थरीथरीका।
भीमफेदीतिरबाट अर्थात् गर्मी ठाउँबाट आउनेहरूका लागि कुलेखानी चिसो। उनीहरूले चिसो ठाउँको स्वादिलो खाना र न्यानो बास धेरै समयसम्म सम्झिरहने। खाना खान मेच र टेबुल होइन, ठूल्ठूला पिर्का राखिएका हुन्थे। पानी खान भोजपुरे करुवाको व्यवस्था गरिएको हुने।
भीमफेदी उतिबेला राजधानी काठमाडौं आउजाउ गर्ने बाटो थियो। भीमफेदीसम्म मानिसहरु रेल र मोटरबाट आउने, त्यहाँबाट चिसापानी गढी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरी डाँडो पार गरी थानकोटसम्म पैदल आउनुपर्ने। पैसा हुनेहरू र अशक्तहरू भने उलिनकाठ वा भाडाको घोडा वा डोकोमा बोकिएर आउजाउ गर्थे।
भीमफेदी उतिबेला राजधानी काठमाडौं आउजाउ गर्ने बाटो थियो। भीमफेदीसम्म मानिसहरु रेल र मोटरबाट आउने, त्यहाँबाट चिसापानी गढी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरी डाँडो पार गरी थानकोटसम्म पैदल आउनुपर्ने। पैसा हुनेहरू र अशक्तहरू भने उलिनकाठ वा भाडाको घोडा वा डोकोमा बोकिएर आउजाउ गर्थे।
काठमाडौंबाट तराई तथा पश्चिम र पूर्वी पहाडतिर जाँदा चिसापानी गढी, भीमफेदीकै बाटो जानुपर्थ्यो। भीमफेदीबाट अमलेखगञ्ज, हुने रक्सौल जाने गरिन्थ्यो। भोजपुर र त्यसभन्दा पूर्वतिर र पाल्पादेखि पश्चिमका नेपालका जाँदा पनि उक्त बाटोको सजिलो विकल्प थिएन।
राणा शासनमै रक्सौलदेखि अमलेखगञ्जसम्म छोटी लाइनको रेल बनेको थियो। त्यहाँदेखि भीमफेदीसम्म ग्राभेल सडक, डाँक ओसार्ने दुइटा बसको बन्दोबस्त सरकारले नै गरेको थियो। डाँक सेवाको बस बिहान ६ बजे नै छुट्थ्यो।
काठमाडौंका सडकमा गुड्ने सवारी साधन थानकोटसम्म भरियाहरूले बोकेर ल्याउँथे। हेटौंडा–थानकोट रोपवे नबनुन्जेल त काठमाडौंमा गुड्ने मोटरका लागि इन्धन पनि मान्छेले नै बोकेर ल्याउनुपर्थ्यो। यो अवस्था २०१४ सालमा त्रिभुवन राजपथ नबन्दासम्म नै रह्यो।
बडाहाकिमलाई ढाँट्यौं
मकवानपुरमा आलु आन्दोलन चर्केपछि भीमफेदीले मात्र आन्दोलनको नेतृत्व धान्न सक्ने देखिएन। नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस मकवानपुरले आन्दोलन सशक्त रूपमा परिचालन गर्न केन्द्रबाट नेतृत्व मागेछन्।
पार्टीहरूले पार्टीको नेतृत्व पठाउनु भन्दा विद्यार्थी नेताहरूलाई पठाउने सल्लाह गरी चार वटा विद्यार्थी संघबाट एक/एक जना पठाउने कुरा भएछ। त्यसै अनुसार अखिल नेपाल विद्यार्थी फेडरेशनबाट रामेश्वरप्रसाद प्रधान, नेपाल छात्र संघबाट ध्रुवराम, भण्डारी, नेपाल स्टुडेन्ट यूनियनबाट रामचन्द्र महर्जन र संस्कृत छात्र संघबाट म भीमफेदीतिर लाग्यौं।
भीमफेदीमा हामी चारै जनालाई संघरत्न शाक्यको होटलमा खाने, बस्ने व्यवस्था मिलाइएको रहेछ। संघरत्नले काठमाडौंमा कम्युनिष्ट पार्टीमा काम गरिरहेका दाजु धर्मरत्न शाक्य मार्फत यो तारतम्य मिलाएका रहेछन्।
तर, हाम्रो लागि राहदानी लिएकै रहेनछ। त्यतिबेला राज्यको नियम कस्तो अनौठो थियो भने, भीमफेदी हुँदै काठमाडौं प्रवेश गर्न र यहाँबाट निस्किन राहदानी पत्र बनाउनु अनिवार्य थियो। अब हामी भीमफेदी जान नपाई चिसापानी गढीमै अड्कियौं। गढीमा प्रशासनले रोक्यो।
भीमफेदीमा हामी चारै जनालाई संघरत्न शाक्यको होटलमा खाने, बस्ने व्यवस्था मिलाइएको रहेछ। तर, हाम्रो लागि राहदानी लिएकै रहेनछ। त्यतिबेला भीमफेदी हुँदै काठमाडौं प्रवेश गर्न र यहाँबाट निस्किन राहदानी पत्र बनाउनु अनिवार्य थियो। अब हामी चिसापानी गढीमै अड्कियौं।
केन्द्रीय सरकारले त्यस्तै अत्यावश्यक पर्दा टेलिफोन गरेर राहदानी दिने व्यवस्था गर्दो रहेछ। त्यहाँका बडाहाकिम ऋद्धि विक्रम राणा रहेछन्। उनका छोरा दिवाकर विक्रम राणा विद्यार्थी फेडरेशनका कार्यकर्ता भएकाले एउटा आधार भयो।
राहदानी बनाउन बडाहाकिमसँग ढाँट कुरा गर्यौं, “हामीमध्ये तीन कलकत्तामा र एक जना बनारसमा पढ्छौं। दशैंका लागि नेपाल आएका हौं। किन हो, उताबाट चाँडै बोलाएकाले हतारमा जानुपर्दा राहदानी बनाउन भ्याएनौं।”
हाम्रो कुरा सुनेर बडाहाकिमले राम्रो व्यवहार गरे। 'छोराका साथी परेछौ' भनी विदेशी पाहुना बस्ने कोठामा सुत्न दिए।
भोलिपल्ट सबेरै राहदानीका लागि फोन आएछ। बडाहाकिमले नै खबर गरे। राहदानी पाएपछि हाम्रो बाटो खुल्यो।
हामी भीमफेदी झर्यौं। आन्दोलनका लागि दिनभर बैठक गर्यौं। अर्को दिनदेखि दैनिक चिसापानी गढीमा जुलुश निकाल्ने निर्णय भयो। हाम्रो नेतृत्वमा गढीमा जुलुश आएको देखेर बडाहाकिम हामीसँग रिसले आगो भए। उनले कड्किंदै भने, “अस्ति मात्रै पाहुनाको व्यवहार गरें। यस्तो थाहा पाएको भए तिमीहरूलाई थुन्थें।”
हामी गलेनौं। १२ दिनसम्म लगातार भीमफेदीदेखि चिसापानी गढीसम्म जुलुश निकालिरह्यौं। अन्ततः आन्दोलन सफल भयो। सरकारले एक ठाउँमा मात्र भन्सार महशुल लिने र दोहोरो भन्सार लिएको रकम फिर्ता गर्ने निर्णय गर्यो। पक्राउ परेका व्यापारीसहित सबैलाई छाड्ने निर्णय पनि भयो।
आन्दोलन सफल भएपछि भीमफेदीमा विशाल विजयोत्सव मनाइयो। हामी चारै जनालाई सम्मान गरे। विजय जुलुश हेटौंडासम्म पुग्यो। अर्को दिन हामीलाई वीरगञ्जसम्म भ्रमण गराए। भदौ महीना, वीरगञ्जको उत्पात गर्मीमा बल्लबल्ल रात काट्यौं र भोलिपल्टै फर्किएर कुलेखानीमा बस्यौं। अर्को दिन काठमाडौं फर्कियौं। त्यो यात्रा करीब १६/१७ दिनको भयो।
त्यो चित्लाङ, त्यो मार्खु अहिले पनि छँदैछ। तर, सुन्दर शान्त र शीतल कुलेखानी बजार अहिले विशाल जलाशय इन्द्रसरोवरमा परिणत भएको छ। समयको बहावसँगै रूप फेरियो। त्यो बेलाको मानिसलाई अहिलेको बदलिएको स्वरुपले छक्कै पार्छ।